वीरगंज, ०७ साउन — हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहँदा आज दिउँसो र राति अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्हरूले बताएका छन्।
मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशभर मनसुनको सक्रियता कायमै छ।
विभागले भू–स्खलन, बाढी, पहिरो तथा जल–जमावको सम्भावनालाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

























