वीरगंज, ०८ साउन — वीरगंज कपडा बैंकले पर्साको धोबिनी गाउँपालिका–५ जगरनाथपुर टोलका आगलागी पीडित अशेसर दासलाई कपडा तथा नगद राहत सहयोग प्रदान गरेको छ।
कपडा बैङ्कका संरक्षक अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मी, अध्यक्ष लालबाबु सिंह, कोषाध्यक्ष तथा पत्रकार मनोज मिश्र, सल्लाहकार अधिवक्ता प्रकाशकुमार उपाध्यायलगायतको टोलीले एक कार्यक्रमका बीच दासलाई दुई बोरा लत्ताकपडा, दुई थान कम्बल, दुई थान झुल, ओछ्याउने म्याट र नगद रु ६ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै संरक्षक अधिवक्ता कुर्मीले “तपाईं सँग धेरै छ भने हामीलाई दिनुहोस्, तपाईंलाई आवश्यक छ भने हामीसँग निश्शुल्क लिनुहोस्” भन्ने मुलमन्त्र अनुसार कपडा बैंकले विगत ६ वर्षदेखि गरिब, असहाय तथा आपतबिपतमा परेकालाई कपडा, खाद्यान्न र नगद सहयोग गर्दै आएको जानकारी दिए। उनले आम्दानीको कम्तीमा ५–१० प्रतिशत दिनदुखीहरुको सेवामा खर्च गर्न सबैलाई आग्रह गर्दै, मानवताको सेवा नै सर्वोत्तम धर्म भएको बताए।
गत वर्ष परेको चट्याङका कारण अशेसर दासको घरमा आगलागी हुँदा नगद, गरगहना, अन्न, लत्ताकपडा, भाँडावर्तन, टिभी, सिलाइ मेसिन, पंखा, बिजुली मिटरलगायत सम्पत्ति जलेर नष्ट भएको थियो। उक्त आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको कोषाध्यक्ष मिश्रले जानकारी दिए।
सल्लाहकार उपाध्यायले विपत्तिमा परेकालाई सबै मिलेर सहयोग गर्न सके मात्र मानवता मजबुत बन्ने उल्लेख गर्दै कपडा बैंकको अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए।
अध्यक्ष सिंहले नयाँ–पुराना कपडा तथा आर्थिक सहयोग गर्ने सबै सहयोगी, दाता र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै पीडित दासको घर निर्माणमा समेत सक्दो सहयोग गर्न अपिल गरे। साथै, आफू–आफ्नो गाउँठाउँमा असहायका लागि सहयोगी बन्न सबैलाई अनुरोध गरे।
पीडित अशेसर दासले आफ्नो घर खरानीमा परिणत भएको र हाल छिमेकीको गोठमा बस्नुपरेको पीडा सुनाउँदै कपडा बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गरे। उनले सहयोगलाई जीवनभर सम्झिरहने बताए।

























