वीरगंज, १२ साउन — माहेश्वरी समाज वीरगंजले अपाङ्गता पीडित एक महिलालाई कृत्रिम खुट्टा जडानका लागि आइतवार सहयोग हस्तान्तरण गरेको छ। समाजले रोटरी क्लब वीरगंजसँग सहकार्य गरी आयोजित एक कार्यक्रममार्फत सो सहयोग प्रदान गरेको हो।
कार्यक्रममा समाजका अध्यक्ष प्रकाश बाहेती, सचिव रमेश साबु, कोषाध्यक्ष विकास करनानी, सदस्यहरू सञ्जय बाहेती, सञ्जय मुन्दरा लगायतको उपस्थिति रहेको थियो। उनीहरूले कृत्रिम खुट्टा निर्माण खर्च स्वरूप रु १६ हजार ५ सय रुपैयाँको चेक रोटरी क्लब वीरगंजका डा शाश्वत प्रसादलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष बाहेतीले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै समाजले विभिन्न आपत्–विपत्, बाढी, आगलागी र अन्य सङ्कटमा परेका पीडितहरूलाई खाद्यान्न, लत्ताकपडा लगायत विविध सहयोग गर्दै आएको बताए। “आज एक पीडित दिदीलाई कृत्रिम खुट्टा सहयोग गर्न पाउँदा निकै गर्व र खुशी लागेको छ,” बाहेतीले भने, “हामी सबैले आफ्नो आम्दानीको २ देखि ५ प्रतिशत समाजसेवामा लगाउन थालेमा नै मानवता अझ सुदृढ बन्नेछ।”
सहयोग प्राप्त गरेकी महिलाले आफ्नो परिवारका तर्फबाट समाज र अध्यक्ष बाहेतीप्रति आभार प्रकट गर्दै भनिन्, “म जस्तो गरिब अपाङ्ग व्यक्तिको जीवनमा यो सहयोग अमूल्य छ। अब म आफ्नै खुट्टामा उभिन सक्छु भन्ने विश्वास जागेको छ।”
यसबाहेक, समाजका अध्यक्ष बाहेतीले केही दिनअघि मात्रै पर्साको धोबिनी गाउँपालिका–५ स्थित आगलागी पीडित परिवारलाई दुई बोरा चामल सहयोग गरेका थिए।

























