वीरगंज, १६ साउन — वीरगंज कपडा बैंकले शुक्रवार वीरगंजको घण्टाघरमा आयोजित विशेष कार्यक्रममार्फत करिब ६ सय थान नयाँ तथा पुराना कपडाहरू निश्शुल्क वितरण गर्दै आफ्नो नियमित सेवा अभियानलाई सुसम्पन्न गरेको छ।

बिगत ६ वर्षदेखि गरिब, असहाय तथा पीडित समुदायका लागि कपडा वितरण गर्दै आएको वीरगंज कपडा बैंकले शनिवार बाहेक प्रत्येक दिन बिहान साढे १० बजेदेखि बेलुका ५ बजेसम्म वीमनपा-८ स्थित कार्यालयबाट सेवा दिँदै आएको छ। बैंकका सचिव कन्हैया पटेलका अनुसार शुक्रवार विशेष रूपमा घण्टाघरमै कार्यक्रम आयोजना गरी नयाँ र प्रयोग गर्न मिल्ने कपडाहरू वितरण गरिएको हो।

अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी थिए। उनले “जोसँग धेरै छ, उनले दिनुस् — जसलाई छैन, उनले लिनुस्” भन्ने मूल मन्त्र आत्मसात गर्दै बैंकले सेवा यात्रा अघि बढाएको बताउँदै मानव सेवामा आम्दानीको कम्तिमा ५ देखि १० प्रतिशत खर्च गर्न सबैलाई आग्रह गरे।

कार्यक्रममा सल्लाहकार अधिवक्ता प्रकाश उपाध्यायले “कोही पनि नाङ्गो नरहोस्” भन्ने भावनाका साथ बैंकले नयाँ वा नयाँ जस्तै पुराना कपडाहरू वितरण गर्दै आएको उल्लेख गर्दै सहयोगी दाताहरू र स्वयंसेवकहरूको खुलेर प्रशंसा गरे।

कार्यक्रममा अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी हुकुम सिंह राजपुत, सतिश सिंह राजपुत, राजेन्द्र भट्टराई, युवा अभियन्ता केदार गुप्ता, उपाध्यक्षद्वय प्रकाश थारु र मोनिका सिंह, कोषाध्यक्ष मनोज मिश्र, सदस्यहरू हरेन्द्र पटेल, संजय मण्डल, राजेश श्रीवास्तव, जानकी देवी, नवराज भट्टराई, अभिलाष गुप्ता, राहुल सिंह राजपुत लगायतको सक्रिय सहभागिता रहेको थियो।

सञ्चारकर्मी युवराज खड्का, अजित भुजेल, राज सराफ, राम आर्य, श्रीनारायण पर्सेली, अर्जुन चौधरी लगायतले कार्यक्रमको प्रचार–प्रसारमा योगदान पुर्याएका थिए।

अध्यक्ष सिंहले सबै दाताहरू, सल्लाहकार, सदस्य, शुभेच्छुक र स्वयंसेवकप्रति आभार व्यक्त गर्दै यस्तो अभियानलाई अझ सशक्त बनाउन सबैलाई हातेमालो गर्न आग्रह गरे।

वीरगंज कपडा बैंकले हरेक महिना घण्टाघरमा विशेष वितरण कार्यक्रमका साथै बाढी, आगलागी लगायतका विपद्पछिको राहत कार्यमा समेत अग्रसर रहँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन