तस्विर : सौजन्य

वीरगंज, १६ साउन — निजी क्षेत्रका कर्मचारी तथा उनीहरूको आश्रितलाई लक्षित गर्दै नेशनल मेडिकल कलेज प्रालि, वीरगंज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेडबीच स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आपसी समझदारीपत्र (MOU) मा हस्ताक्षर गरिएको छ।

वीरगंज–१५ स्थित नेशनल मेडिकल कलेजको दर्ता कार्यालयमा सम्पन्न औपचारिक कार्यक्रममार्फत सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। अस्पतालतर्फबाट निर्देशक डा इशरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत इञ्जिनियर प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेशचन्द्र दास तथा प्रशासनिक अधिकृत विश्वनाथ कान्तको उपस्थिति रहेको थियो। हुलास समूहतर्फबाट वरिष्ठ मानव संसाधन प्रबन्धक गोकुल पौडेल र लेखा विभागका प्रतिनिधि मनोज पारिखलगायत सहभागी थिए।

विज्ञापन

सम्झौताअनुसार हुलास आइरन इन्डस्ट्रीज र हुलास इन्फ्राका सञ्चालक समिति सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रित (बाबु–आमा, श्रीमान/श्रीमती र दुई जना सन्तान) ले नेशनल मेडिकल कलेजबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। सामाजिक सुरक्षा कोष (SSF) अन्तर्गतका लाभार्थीलाई कोषको समन्वयमा सेवा उपलब्ध गराइनेछ भने गैर–सामाजिक सुरक्षा कोष (SSF) लाभार्थीलाई विशेष छुटको व्यवस्था गरिएको छ।

आपतकालीन अवस्थामा Guarantee of Payment (GOP) प्राप्त गरेपछि तुरुन्त सेवा प्रदान गरिने व्यवस्था गरिएको छ। साथै औद्योगिक दुर्घटनाको उपचार, पूर्व–रोजगार स्वास्थ्य परीक्षण, वार्षिक चेकअप र त्रैमासिक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन पनि सहमतिको हिस्सा हुनेछ।

सम्झौताको अवधि एक वर्षको रहनेछ र आवश्यकताअनुसार दुबै पक्षको सहमतिमा नवीकरण गर्न सकिनेछ। दुबै पक्षले पारदर्शिता र गोपनीयताको आधारमा सेवा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

यस समझदारीले निजी उद्योगका कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले व्यक्त गर्नुभएको छ। साथै, यो सहकार्य उद्योग र स्वास्थ्य क्षेत्रबीचको सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here