वीरगंज, १८ साउन — वीरगंज महानगरपालिका वडा नं १६ स्थित बसपार्क प्रहरी चौकीले ठूलो मात्रामा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। प्रहरी नायब निरीक्षक (प्रनानी) धीरेन्द्र थपलियाको नेतृत्वमा सञ्चालन गरिएको विशेष चेकजाँच अभियानका क्रममा बसपार्क क्षेत्रका विभिन्न पसलबाट करिब ७०० लिटर घरेलु मदिरा बरामद गरिएको थियो।

बरामद गरिएको मदिरा वडा नं १६ का वडाअध्यक्ष परशुराम चौरसियाको रोहबरमा बसपार्क प्रहरी चौकी प्राङ्गणमा नष्ट गरिएको हो।

प्रनानी थपलियाका अनुसार अवैध रूपमा बिक्री वितरण हुँदै आएको घरेलु मदिराको सूचनाका आधारमा प्रहरीले छापा मारी मदिरा नियन्त्रणमा लिएको हो। उनले भने, “अवैध मदिरा बिक्री वितरणविरुद्ध हामी नियमित रूपमा अभियान सञ्चालन गर्दै आएका छौं। यस्ता गतिविधिले जनस्वास्थ्य र शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले प्रहरीले कडाइका साथ कदम चालेको हो।”

उनले आगामी दिनमा पनि अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। साथै, अभियानमा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा भद्रभलाद्मीहरूको सहयोग अझै आवश्यक हुने बताए।

कार्यक्रममा वडाअध्यक्ष चौरसियाले प्रहरीको जनतामैत्री सुकार्यको मुक्तकण्ठले प्रशंसा गर्दै भने, “सुरक्षा चुनौतीपूर्ण क्षेत्र बसपार्कमा प्रहरीको सक्रियता सराहनीय छ। यस कार्यमा हाम्रो सधैं साथ र सहयोग रहनेछ।”

सो अवसरमा समाजसेवी केशव गुप्ता, स्थानीय भद्रभलादमी, सञ्चारकर्मी तथा बसपार्क क्षेत्रका सर्वसाधारणको उपस्थिति रहेको थियो। सर्वसाधारणले पनि प्रहरीको यो सक्रियतालाई सकारात्मक रूपमा लिएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here