वीरगंज, १९ साउन – जिल्ला प्रहरी कार्यालय, पर्साले कटुवा पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरीले २०८२ साउन १८ गते साँझ करिब ६ बजे वीरगंज महानगरपालिका–१६, ईनर्वागाउँस्थित मस्जिद नजिक शंकास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक (प्र.नि.)को कमाण्डमा खटिएको टोलीले सो व्यक्ति साहेव खाँ (४०), हाल ससुराली ईनर्वागाउँमा बसोबास गर्दै आएका र स्थायी ठेगाना विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभठ्ठा, पर्सा रहेका, लाई खानतलासी गर्दा उनको साथबाट कटुवा पेस्तोल फेला पारेको हो।
पक्राउ परेका खाँलाई हातहतियार सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार खाँले सर्वसाधारणलाई डरत्रास देखाउने उद्देश्यले पेस्तोल साथमा राखेको आशंका गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

























