वीरगंज, १९ साउन — रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवसहित दुई जनाविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा सोमवार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार वडाध्यक्ष यादवले योजना भुक्तानी सिफारिस गर्ने प्रयोजनमा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस माग गरेका थिए। सिसु सेमरा दक्षिण धोबहिया छठ घाट निर्माण, पुर्निकोट गाउँभित्र सडक पीसीसी ढलान र सुरहवाँ गाउँभित्र सडक पीसीसी ढलानजस्ता योजनाहरूको काम सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्न घुस मागिएको जनाइएको छ।

विज्ञापन

सोही रकम जिल्ला रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ मा रहेको गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिनकुमार पाण्डेमार्फत लिन लगाइएको थियो। पाण्डेले रकम लिइसकेको अवस्थामा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई तीन लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा यादवले सेवाग्राहीसँग मिलेमतो गरी पाण्डेमार्फत घुस रकम लिएको पुष्टि भएको आयोगको भनाइ छ। त्यसैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार यादवविरुद्ध कैद र जरिवानासहित भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

यस्तै, घुस रकम लिने कार्यमा संलग्न विपिनकुमार पाण्डेमाथि समेत सोही ऐनको दफा २२ बमोजिम “मतियार” को रूपमा सहयोगी भूमिका खेलेको आरोप लागेको छ। आयोगले उनलाई पनि मुख्य अभियुक्त सरह कैद र जरिवाना मागसहित मुद्दा दायर गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here