वीरगंज, २२ साउन – वीरगंज महानगरपालिका वडा नं २ इनर्वास्थित करिब एक विघा जग्गा हडप्ने भूमाफियाको प्रयासमा उच्च अदालत वीरगंजले अंकुश लगाएको छ।

साविक इनर्वा भाठा वडा नं २ मा पर्ने कित्ता नं ५३ को १९ कट्ठा १० धुर जग्गा “गौरक्षणी गौशाला”को नाममा लालपुर्जा कायम रहेको छ। सोही जग्गामा “गौरक्षणी गौशाला पशुपालन सहकारी संस्था लिमिटेड, वीरगंज–३” नामको संस्थामार्फत केही भूमाफिया समूहले दाबी गर्दै निषेधाज्ञा मागसहित गएको साउन १५ गते उच्च अदालत वीरगंजमा मुद्दा दायर गरेका थिए।

उक्त सहकारी संस्था मूल गौशालाको नामसँग मिल्दोजुल्दो राखी नाममा भ्रम सिर्जना गर्दै भूमाफियाले जग्गा कब्जा गर्न खोजेका थिए। प्रमोद कुमार सिंह नेतृत्वको समूहले यो योजना अघि बढाएका थिए। सिंहले नै अदालतमा निषेधाज्ञा माग गर्दै मुद्दा दायर गरेका थिए।

वर्षौँअघिदेखि केही व्यक्तिहरूले सोही जग्गामा टहरा बनाएर व्यापार गरिरहेका थिए। मuchchहानगरपालिकाले अतिक्रमण हटाउँदै सो जमिनलाई अतिक्रमणमुक्त बनाएको थियो। अहिले महानगरले सोही स्थानमा सार्वजनिक शौचालय निर्माणको तयारी थालेको छ।

सार्वजनिक उपयोगका लागि संरचना बन्न लागेपछि भूमाफियाहरूले त्यसलाई अवरुद्ध गर्न अदालतको शरण लिएका थिए। तर उच्च अदालत वीरगंजका न्यायाधीशद्वय दुर्गा बहादुर विश्वकर्मा र ऋषिराम निरौलाको संयुक्त इजलासले भूमाफियाको माग खारेज गर्दै निषेधाज्ञा नजारी गर्ने आदेश दिएको छ।

यस निर्णयसँगै भूमाफियाको योजना विफल भएको छ र वीरगंज महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणको कार्य निर्वाध रूपमा अघि बढाउने बाटो खुलेको छ।

महानगरले यस स्थानमा अत्याधुनिक र सर्वसुलभ सार्वजनिक शौचालय निर्माणको काम अघि बढाएको हो। नेपालकै मुख्य प्रवेशद्वारका रूपमा रहेको यो स्थान हुँदै दैनिक सयौं यात्रु, व्यापारी, मजदुर, महिला, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको आउजाउ हुने गर्छ।

शहरको दैनिक गतिविधि, जनसंख्या चाप, र सार्वजनिक स्थलहरूमा मानिसहरूको बाक्लो उपस्थितिका बीच शौचालयजस्ता आधारभूत संरचनाको अपरिहार्यता बढ्दै गएको बेला महानगरले यो स्थानमा सार्वजनिक शौचालय निर्माणको काम अघि बढाएको हो। वीरगंजजस्तो व्यापारिक, पर्यटकीय र सीमावर्ती शहरका लागि सार्वजनिक शौचालय अपरिहार्य रहेकोले महानगरले यहाँसँगै अन्य तीन स्थानमा यस्ता सार्वजनिक शौचालय निर्माणको काम अघि बढाइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here