​तस्वीर : पशुराम पटेल / अभितक

​अभितक, मकवानपुर​, २८ साउन — मकवानपुरको बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सिमानामा अवस्थित ल​ट्टारम्मेश्वर महादेव धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलको रूपमा परिचित हुँदै गएको छ। करिब २ हजार मिटर उचाइको डब्लु डाँडामा रहेको यो स्थल हिन्दू धर्मालम्बीहरुको आस्थाको केन्द्र मानिन्छ।

पौराणिक विश्वास अनुसार महादेवकी पत्नी सतिदेवीले देहत्याग गरेपछि महादेवले उनको शरीर बोकेर हिँड्ने क्रममा जटा पतन भएको स्थान यही हो। सतिदेवीको जटा झरेको मान्यताले गर्दा यस स्थानलाई ‘ल​ट्टारम्मेश्वर’ नाम दिइएको जनश्रुति छ।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट करिब ४० किलोमिटर उत्तरतर्फ कान्तिलोकपथ हुँदै ठिंगन पुगिन्छ। ठिंगन पुग्नुभन्दा ५​ सय मिटर अघि खोरभन्ज्याङबाट कच्ची बाटो हुँदै रातोमाटेसम्म दुई पाङ्ग्रे सवारी पुग्न सक्छ। त्यहाँबाट करिब तीन घण्टाको ​जङ्गल पैदलयात्रापछि ल​ट्टारम्मेश्वरको परिसरमा पुगिन्छ।

गुफाभित्र रहेको मन्दिर, बाहिरको ठूलो घण्टी, माथि अवस्थित त्रिशुल र पूजास्थल यस स्थानका आकर्षण हुन्। करिब सय/सय मिटर लामो सिमेन्टको सिँढीले यात्रा सहज बनाएको छ। महाभारत क्षेत्रअन्तर्गत पर्ने यो डाँडामा मौसम छिनछिनमै परिवर्तन भई चिसो हुने गर्छ।

हालका वर्षहरूमा मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर, ललितपुरसँगै पर्सा, बारा, रौतहट तथा भारतीय सिमावर्ती क्षेत्रबाट आउने अन्तरिक र बाह्य पर्यटकहरुको संख्या उल्लेख्य रूपमा बढ्दो क्रममा छ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन