वीरगंज, २८ साउन — मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागमा पूर्णतया बदली रहनेछ भने बाँकी भू–भागमा सामान्य बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा र बाँकी प्रदेशका केही स्थानमा वर्षा हुने देखिएको छ।
सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका केही स्थान, लुम्बिनी प्रदेशको तराईका केही भाग, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ।

























