वीरगंज, २९ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग, भृकुटीमण्डप, काठमाडौँका निर्देशक (सिडिई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, २०६६ जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको अवधि परीक्षण गर्दा यादवले सो अवधिमा रु २ करोड ६८ लाख १८ हजार नौ सय रुपैयाँ बराबरको आय आर्जन गरे पनि खर्च तथा लगानी रु ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ पुगेको पाइएको छ। यस आधारमा रु ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको आयोगको भनाइ छ।
आरोपपत्रमा भनिएको छ, यादवले सार्वजनिक पदको दुरुपयोग गरी अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गर्ने गरी गैरकानूनी सम्पत्ति आर्जन गरेका छन्। सोमध्ये केही सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा राखिएको देखिएकाले उक्त सम्पत्ति जफतको मागसहित उनलाई पनि प्रतिवादी बनाइएको हो।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बराबरको जरिवाना र कैद सजायको मागसहित मुद्दा दायर गरेको हो।

























