वीरगंज, ०३ भदौ – नेपाल इन्जिनियर्स एसोसिएसन वीरगंज केन्द्रको हालै सम्पन्न निर्वाचनबाट चयन भएका पदाधिकारीलाई वीरगंज महानगरपालिकाले आज औपचारिक रूपमा सम्मान गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहले मङ्गलवार आफ्नो कार्यकक्षमा आयोजित कार्यक्रममार्फत नयाँ नेतृत्वलाई सम्मान गर्दै आगामी कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे। विजयी पदाधिकारीहरूमा अध्यक्ष प्रियान्सुकुमार गुप्ता, उपाध्यक्ष श्यामकिशोर दास, सचिव मनिष केशरीसहित कार्यसमितिका अन्य इन्जिनियरहरू सहभागी थिए।

विज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले इन्जिनियरहरूको पेशागत दक्षता र इमान्दारिता देशको विकासका लागि अनिवार्य रहेको उल्लेख गर्दै नयाँ नेतृत्वले अझ सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले भने, “इन्जिनियरहरू विकासका मेरुदण्ड हुन्। तपाईंहरूको योजनाबद्ध काम र इमान्दार प्रयासले मात्र शहर र देशको विकास सम्भव हुन्छ। त्यसका लागि महानगर सधैं सहयोगका लागि तयार छ।”

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पनि नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै व्यावसायिक मर्यादा कायम राख्दै महानगर र समुदायसँग सहकार्यमा काम गर्न आग्रह गरे। उनले नयाँ नेतृत्वले इन्जिनियरहरूको हकहितसँगै समाज विकासमा ठोस योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष प्रियान्सुकुमार गुप्ताले महानगरले देखाएको सद्भाव र सम्मानप्रति आभार व्यक्त गर्दै इन्जिनियरिङ क्षेत्रको उन्नति र पेशागत मर्यादा कायम राख्न सबैलाई साथ दिन आग्रह गरे। उनले आगामी दिनमा युवा इन्जिनियरहरूको क्षमता विकास, तालिम र प्राविधिक क्षेत्रमा नवीनता ल्याउन आफू प्रतिबद्ध रहने पनि बताए।

उपाध्यक्ष श्यामकिशोर दास र सचिव मनिष केशरीले पनि आफ्नो कार्यकालमा संस्थालाई बलियो बनाउन र सदस्यहरूबीच एकता कायम राख्न प्राथमिकता दिने बताए।

कार्यक्रममा उपस्थित अन्य पदाधिकारी तथा इन्जिनियरहरूले पनि आ–आफ्ना धारणा राख्दै महानगरसँग सहकार्य गरेर वीरगंजलाई आधुनिक, व्यवस्थित र प्राविधिक दृष्टिले सम्पन्न शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here