वीरगंज, ०३ भदौ — वीरगंज महानगरपालिकाले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने प्रक्रिया तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ। भूमिसमस्या समाधान आयोग, पर्साले जिल्लाभर भूमिहीनको लगत संकलनलाई अन्तिम चरणमा पुर्याईरहेका बेला, महानगरले आयोगसँग सहकार्य गर्दै आफ्नो क्षेत्रमा रहेका भूमिहीनलाई विधिअनुसार जमिन उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको हो।
मङ्गलवार महानगर प्रमुख राजेशमान सिंहले ३२ वटै वडाका वडा सचिवलाई कार्यकक्षमा बोलाई भूमिहीनको लगत सङ्कलन छिटो सम्पन्न गर्न निर्देशन दिए। उनले भने – “जसको जमिन छैन, उसलाई जग्गा पाउने व्यवस्था मिलाउनुपर्छ। त्यसका लागि प्रक्रिया पूरा गरेर लगत चाँडै बुझाउनुस्। यसबाट भूमिहीन परिवारको जीवनमा ठूलो सहजता आउनेछ।”
भूमिसमस्या समाधान आयोग, पर्साका अध्यक्ष तबरेज अहमदले भने वीरगंज महानगरले अहिलेसम्म भूमिहीनको विवरण आयोगमा नबुझाएको भन्दै असन्तोष प्रकट गरे। उनले भने – “महानगरले अब ढिलाइ गर्न हुँदैन। या त गर्न सक्दैनौँ भन्नुपर्छ, होइन भने काम तत्काल पूरा गर्नुपर्छ। अहिले जिल्ला नै लगत सङ्कलनमा जुटिरहेको छ। महानगरकै लागि अन्तिम पटक समय थप गरिएको हो।”
अनौपचारिक तथ्यांकअनुसार वीरगंज महानगर क्षेत्रमा करिब १५ सय हाराहारीमा भूमिहीन परिवार रहेको अनुमान छ। कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यसहित आयोगले महानगरलाई जिम्मेवार भएर कार्य सम्पादन गर्न आग्रह गरेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले आयोगसँग घनिष्ठ समन्वय गर्दै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कार्यमा महानगर पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले भने – “भूमिसम्बन्धी कार्यलाई व्यवस्थित गर्न महानगरमा छुट्टै शाखा गठन गरी लगत सङ्कलन तत्काल सुरु गर्ने व्यवस्था मिलाइनेछ।”
लगत सङ्कलन कार्य चाँडै अघि बढे, लामो समयदेखि जमिनको अधिकारबाट विहीन बनेका भूमिहीन परिवारलाई लालपुर्जा प्राप्त गर्ने मार्ग खुला हुने विश्वास गरिएको छ।

























