काठमाडौँ — भारत र चीन फेरि नेपालको भूमि लिपुलेक पास हुँदै द्विपक्षीय व्यापार खोल्न सहमत भएका छन्।
लिपुलेक पास नेपालका पश्चिमी सीमा लिम्पियाधुराबाट करिब ५६ किलोमिटर भित्र पर्छ।

चिनियाँ विदेशमन्त्री वाङ यी भारतको भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको वार्तामा यसबारे सहमति भएको हो। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणमा भाद्र २ र ३ गते यी भारत पुगेका थिए।

विज्ञापन

भारतीय विदेश मन्त्रालयले मङ्गलवार राति सार्वजनिक गरेको संयुक्त सहमतिको बुँदा नम्बर ९ मा ‘लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्ने’ निर्णय उल्लेख छ।

यसअघि पनि सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ समकक्षी ली खछियाङबीच भएको संयुक्त वक्तव्यमा लिपुलेक हुँदै व्यापार विस्तार गर्ने सहमति भएको थियो। तर, नेपाललाई जानकारी नै नदिई गरिएको उक्त सहमति नेपालमा व्यापक विरोधको विषय बनेको थियो। नेपाल सरकारले तत्कालै भारत र चीन दुवैलाई कुटनीतिक नोट पठाउँदै औपचारिक आपत्ति जनाएको थियो।

सन् २०२० मा गलवानमा भएको झडपपछि भारत–चीन सम्बन्धमा तनाव बढ्यो। तर, हाल दुवै मुलुक सम्बन्ध सुधार गर्ने प्रयासमा छन्। सो क्रममा नेपालभित्र पर्ने लिपुलेक पासलाई पुनः व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने सहमतिले पुनः विवाद निम्त्याउने देखिएको छ।

लिपुलेक–कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको आधिकारिक नक्साभित्र पर्छन्। तर, भारतले सन् २०१९ मा जारी गरेको नक्सामा उक्त क्षेत्रलाई आफ्नै भूभागका रूपमा देखाएको थियो। त्यसपछि नेपालले २०७७ जेठमा लिम्पियाधुरासम्म समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको थियो, जसलाई ‘चुच्चे नक्सा’ भनेर चिनिन्छ।

तर, नेपालले सो नक्सा अझै अन्तर्राष्ट्रिय समुदायलाई औपचारिक रूपमा उपलब्ध गराएको छैन। यिनै कारणले चीनले पनि सन् २०२३ मा जारी गरेको आफ्नो नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारततर्फ देखाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here