
वीरगंज, ०८ भदौ — तीज पर्वको पूर्वसन्ध्यामा वीरगंज युवा समाजले बाराको पथलैयास्थित ज्येष्ठ नागरिक सम्मान वृद्धाश्रम नेपाल का आश्रित आमाबुबासँग तीज पर्व भव्य र सभ्य रूपमा मनाएको छ।
‘परिवर्तनको लागि वीरगंज युवा समाज’ भन्ने नारासहित सामाजिक विकृति, कुप्रथा र कुसंस्कारविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको समाजले आइतवार बुवाको मुख हेर्ने दिन र तीज पर्वको अवसर पारेर वृद्धाश्रमका आठजना ज्येष्ठ नागरिकलाई दर खुवाएर सेवा गरेको हो।
वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्यहरू सुशील श्रेष्ठ, लालबाबु सिंह, निरज श्रेष्ठ, काजल कोईराला, पुष्पराज कोईराला, रोजी प्रधान, विनोद धिमाल, मनोज गुप्ता, जगत गुप्ता, कमलेश सर्राफ र बिक्रम खनाललगायतको सक्रिय सहभागिता रहेको थियो।
सो अवसरमा अध्यक्ष थापाले युवा समाजले हरेक गतिविधिमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको उल्लेख गर्दै भने, “हामीले सानो प्रयासमार्फत वृद्धाश्रममा आश्रित आमाबुबाको अनुहारमा मुस्कान ल्याउन पाएका छौं, जसले हामीलाई गर्व र खुशी दिएको छ। दिन दुखी, असहाय र विपन्नको सेवा नै मानव जीवनको सबैभन्दा ठूलो धर्म र कर्म हो। ज्येष्ठ नागरिक हाम्रा समाजका गहना भएकाले सबैले आआफ्नो ठाउँबाट सेवा सहयोग गर्दै मानवता बलियो बनाउनुपर्छ।”
कार्यक्रममा सहभागी सदस्यहरूले वृद्धाश्रमका आमाबुबालाई खादा लगाइ सम्मान गरेका थिए। साथै फलफूल, मिठाई, दही, चिसो पेय पदार्थ, एक छाक भोजनसहित साडी, सर्ट, टीसर्ट र केही नगद उपहार समेत प्रदान गरिएको थियो। सहभागीहरूले यस्तो सानो सेवा सहयोगले ज्येष्ठ नागरिकमा खुशी ल्याउने र सामाजिक सद्भाव तथा मानवता बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए।
























