वीरगंजमा हैजा नियन्त्रण

वीरगंज, ०९ भदौ – हैजाको संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधि वा किट वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिएका छन् । उनले हैजालाई “हौवा बनाएर व्यापार नगर्न” पनि आग्रह गरे।

सिंहका अनुसार, निजी अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास देखिएको छ तर सरकारले नै किट निश्शुल्क उपलब्ध गराउने भएकाले यसमा जनताले भ्रमित हुन नपर्ने बताए।

विज्ञापन

वीरगंजमा आयोजित अन्तरक्रियात्मक छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रमुख सिंहले हैजा नियन्त्रणका सबै काम एकीकृत प्रयासमार्फत गर्नुपर्नेमा जोड दिए।

सरकारी अस्पताललाई उपचार केन्द्र बनाउने सुझाव

स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले झाडापखाला सम्बन्धी बिरामीको उपचारमा सरकारी स्वास्थ्य संस्थालाई मुख्य केन्द्र बनाउनुपर्ने बताए। साथै, निजी स्वास्थ्य संस्थाले पनि समान मापदण्ड अपनाउनु आवश्यक हुने उल्लेख गरे। महानगरको समन्वयमा मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने र आइसियुमा उपचाररत बिरामीहरूको अवस्था प्रत्यक्ष बुझ्ने तयारी गरेको जानकारी दिइयो।

हैजा परीक्षण दोहोर्याउन नपर्ने

स्वास्थ्य सेवा विभाग, सरुवा रोग शाखाका प्रमुख डा प्रविण झाले हैजा परीक्षण बारम्बार गर्नुपर्ने आवश्यकता नरहेको बताए। “एउटा बिरामीमा हैजाको पुष्टि भएपछि त्यस्तै लक्षण भएका अन्य बिरामीलाई पुनः परीक्षण गर्नु पर्दैन, बरु सीधा उपचारमा ध्यान दिनुपर्छ,” भन्दै उनले स्वास्थ्यकर्मीहरुलाई उपचारलाई प्राथमिकता दिन आह्वान गरे।

स्वास्थ्य मन्त्रीको वीरगंज आगमन

यसैबीच, स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज पुग्दै छन्। मन्त्री पौडेल दिउँसो २ बजे नारायणी अस्पताल पुगेर अवलोकन गर्ने र त्यसपछि महानगर तथा सरोकारवालासँग हैजा नियन्त्रणका उपायबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली हिजोदेखि नै वीरगंजमा खटिएको छ र हैजा नियन्त्रण तथा उपचारका गतिविधि नजिकैबाट अनुगमन गरिरहेको वीरगंज महानगरले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here