वीरगंज, ०९ भदौ — परवानीपुर गाउँपालिकाले वडा नं ५ बहुअरीको मूल सडक निर्माणलाई लिएर देखिएको विवाद र अवरोधप्रति आपत्ति जनाएको छ। गाउँपालिकाले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा केही व्यक्तिहरुले “सर्वदलीय बाटो निर्माण सङ्घर्ष समिति” गठन गरी राजनीतिक स्वार्थका कारण काम रोकेको र संचार माध्यममार्फत भ्रामक प्रचार गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
गाउँपालिकाले स्मरण गराएको छ कि बहुअरीको मूल सडक निर्माणबारे विगत तीन वर्षदेखि योजना तथा बजेट विनियोजन हुँदै आएको छ। तर, केही व्यक्तिहरुले विभिन्न बहानामा कार्य रोक्दै आएको पालिकाले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “यस विषयमा वडा कार्यालय, भद्रभलादमी, न्यायिक समिति, कार्यपालिका र गाउँसभासम्मले सर्वसम्मत निर्णय गरिसकेका छन्, त्यसपछि मात्रै यो आर्थिक वर्षमा काम सुरु गरिएको हो।”
मूल सडक चौडाइबारे विभिन्न चरणमा विवाद उत्पन्न भएको पालिकाले स्पष्ट गरेको छ। प्रारम्भमा २५ फिट सडक बनाउन सर्वसम्मत निर्णय भए पनि, त्यस्तो अवस्थामा करिब सय घर पर्खाल भत्काउनु पर्ने बाध्यता देखिएको थियो। त्यसपछि २३ फिट गर्ने निर्णय हुँदा पनि करिब ९७ घरधुरी प्रभावित हुने अवस्था थियो। अन्ततः २१ फिटसम्म सीमित गर्दा पनि ८८ घर प्रभावित हुने देखिएपछि, यथास्थितिमा न्यूनतम १९ फिटदेखि अधिकतम २१ फिटसम्म सडक ढलान गर्ने निष्कर्षमा पुगेको पालिकाले जनाएको छ। यही निर्णयलाई कार्यपालिका र गाउँसभाको १६औँ अधिवेशनले अनुमोदन गरिसकेको र त्यसैअनुसार काम अगाडि बढाइएको बताइएको छ।
गापाका प्रवक्ता महमदनुरुल होदा अंसारीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “बहुअरी वरिपरि हाइवे सडकसमेत रहेको अवस्थामा यथास्थितिमा सडक निर्माण गर्दा उपयुक्त हुन्छ। तर राजनीतिक र व्यक्तिगत स्वार्थ राखी केही व्यक्तिहरुले भ्रम फैलाउँदै काममा अवरोध गरेकोले आवश्यक कानुनी प्रक्रिया पुर्याई सडक निर्माण गरिनेछ।”
गाउँपालिकाले अवरोध गर्ने कार्य तत्काल रोक्न आग्रह गर्दै छलफल र सहमतिको बाटोबाट निकास खोजी विकासका सार्वजनिक कामलाई निरन्तरता दिन सबै सरोकारवालासमक्ष अपिल गरेको छ।


























