अभितक, बीरगञ्ज, पौष १९ । मानव सेवा आश्रम वीरगञ्ज शाखाको ८औँ वार्षिक उत्सव शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ। कार्यक्रम मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
उक्त अवसरमा मानव सेवा आश्रम वीरगञ्ज शाखाले पछिल्लो एक वर्षभित्र सञ्चालन गरेका मानवीय सेवा गतिविधिहरू, आश्रममा सहयोग गर्ने दाताहरूको विवरण तथा आय–व्यय विवरण सार्वजनिक गरेको थियो। कार्यक्रममार्फत आश्रमले आफ्नो कामप्रति पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिएको सन्देश दिएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पटेलले वीरगञ्जमा निर्माणाधीन मानव सेवा आश्रम शाखाको भवन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले देशभर सञ्चालनमा रहेका मानव सेवा आश्रमहरूमा राज्यको प्रत्यक्ष सहयोग न्यून रहेको उल्लेख गर्दै समाजसेवी, दाता तथा स्थानीय समुदायको योगदानकै कारण आश्रमहरू निरन्तर रूपमा सञ्चालनमा रहन सकेको बताउनुभयो।
मन्त्री पटेलले मानव सेवा आश्रमले असहाय, बेसहारा तथा सडकमा जीवन बिताउन बाध्य व्यक्तिहरूका लागि गरिरहेको सेवा प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता मानवीय अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न समाजसेवी, दाता, स्थानीय जनप्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। मानव सेवा आश्रम वीरगञ्ज शाखाले आगामी दिनमा पनि मानवीय सेवाका गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

























