वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको छ। यस क्षेत्रबाट नेकपा (एमाले) का युवा उम्मेदवार रूपेश कुमार पाण्डे परिवर्तनको सम्वाहक र भरोसायोग्य नेतृत्वका रूपमा स्थापित हुँदै जनताको व्यापक समर्थन बटुलिरहेका छन।
पछिल्लो समय पाण्डेले सञ्चालन गरिरहेको निरन्तर घरदैलो, मतदाता भेटघाट तथा “जनता दर्शन” कार्यक्रमले चुनावी वातावरणलाई आफ्नो पक्षमा मोडेको देखिन्छ। स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने स्पष्ट भिजन प्रस्तुत गर्दै आएका छन। मतदाताहरूले उनको योजनालाई तथ्यमा आधारित र कार्यान्वयनयोग्य भन्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन।
यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका रूपेश कुमार पाण्डे र नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीबीच देखिए पनि बदलिँदो राजनीतिक परिवेशले युवा नेतृत्वप्रतिको आकर्षण बढाएको देखिन्छ। २०४८ सालदेखि लामो राजनीतिक अनुभव बटुलेका चौधरीको तुलनामा पाण्डे नयाँ ऊर्जा, स्पष्ट एजेन्डा र सक्रिय जनसम्पर्कका कारण मतदातामाझ लोकप्रिय बन्दै गएको बुझिएको छ ।
यता, पटक–पटक निर्वाचित हुँदै मन्त्रीसमेत भइसकेका काँग्रेस नेता चौधरीमाथि कामभन्दा भाषण बढी गर्ने, चुनावका बेला मात्र जनतामाझ देखिने ‘म्यादी उम्मेदवार’ को छवि बनेको स्थानीय स्तरमा आरोप समेत लाग्न सुरु भएको छ । केही मतदाताले पनि विकासका ठोस उपलब्धि अपेक्षाअनुसार नदेखिएको गुनासो व्यक्त गर्दै नयाँ विकल्प रोज्ने मनस्थितिमा पुगेको संकेत दिएका छन।
सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका छोटेलाल यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकान्त चौरसिया पनि प्रतिस्पर्धामा देखिए पनि मुख्य प्रतिस्पर्धा भने एमाले र काँग्रेसबीच नै केन्द्रित रहेको आकलन गरिएको छ। तथापि बहुदलीय प्रतिस्पर्धाले मत विभाजनको सम्भावना रहने भए पनि हालको चुनावी गतिशीलता पाण्डेको पक्षमा अनुकूल बन्दै गएको एमाले समर्थकहरूको दाबी छ।
समग्रमा पर्सा–३ मा यसपटकको निर्वाचन केवल व्यक्तिको प्रतिस्पर्धा मात्र नभई पुरानो राजनीतिक शैली र नयाँ पुस्ताको नेतृत्वबीचको वैचारिक प्रतिस्पर्धाका रूपमा हेरिएको छ। परिवर्तन, पारदर्शिता र विकासको नारासहित अघि बढेका रूपेश कुमार पाण्डेको अभियानले मतदातामाझ बलियो प्रभाव पारिरहेको देखिन्छ। अब अन्तिम निर्णय भने फागुन २१ गते मतपेटिकाबाट नै आउनेछ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here