​वीरगंज, ०३ असार – सप्तरी​ जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकामा सव-इन्जिनियरका रूपमा करार सेवामा कार्यरत दिपेन्द्रकुमार झा (उर्फ दिपेन्द्रकुमार) विरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा ​सोमवार आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ​जनाएको छ। 

झाले करार नियुक्ति पाउने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखराबाट जारी भएको देखाइ ​’Diploma in Civil Engineering​’ को शैक्षिक योग्यताको प्रमाणपत्र र क्यारेक्टर सर्टिफिकेट नक्कली प्रस्तुत गरेका थिए। सो नक्कली प्रमाणपत्रको आधारमा उनले गाउँपालिकाबाट पद, लाभ र सेवा सुविधा प्राप्त गरेका आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।

अनुसन्धानबाट प्रमाणित भएको आधारमा आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कैद र जरिवाना सजाय मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन