• राजेश मिश्र

जिन्दाबाद! जिन्दाबाद! अमुक छाप जिन्दाबाद! फलाना भैया जिन्दाबाद ! 

विज्ञापन

चुनावको बेला गल्लीगल्लीमा यस्तो नाराले गाउँदेखि सहरसम्म गुञ्जाइरहेको हुन्छ । चोकचोकमा भीडसँगै भाषण र चुनावी वाचा सुन्न पाइन्छ। उम्मेदवारहरू हातमा माइक लिएर चर्को स्वरमा बोलिरहेका हुन्छन् — “म र मेरो दल जित्यौं भने पाँच वर्षमा जनताको समस्या अन्त्य हुन्छ!” कार्यकर्ताहरू ताली बजाउँदै हुटिङ गर्छन्, “सही हो!” जनताले टाउको हल्लाउँदै भन्छन्, “हेरम त, एकपटक !”

“अब हामीलाई आश्वासन होइन, पानी चाहिएको हो। भाषण होइन, धारो चाहिएको हो। फोटोसेसन होइन, समाधान चाहिएको हो। अनि खासगरी चाहिएको हो — हिजो ‘जनताको सेवा गर्न आएका’ ति हरुवा उम्मेदवारहरूको जवाफ। “

चुनाव सकिएको झन्डै तिन वर्ष भयो । कोहि जिते र कोहि हारे। विजयी हुनेहरु सत्ताको सिंहआसनमा बसे। हार्नेले “जनताको आदेश शिरोपर” भन्दै सामाजिक सञ्जालमा भावुक स्टाटस लेखे। अनि त्यसपछि ? त्यसपछि त मानौं, धरती चिरिएर उनीहरू त्यहीँ समाएझैं, न त चोकमा देखिन्छन्, न गल्लीमा। जुन उम्मेदवार हिजो हरेक घरको ढोकामा पानीको पाइपजस्तो जोडिएर आउँथे, आज तिनको ‘कनेक्शन’ नै बन्द भएको छ।

वीरगंजको अधिकांश वडामा झन्डै दुई महिनादेखि खानेपानीको समस्या बिकराल छ । भाँडो लिएर मानिसहरू एका बिहानैदेखि पानीको जोहो गदै पर्खिनुपरिरहेको अवस्था छ । कतै बाटोमा ट्याङ्कर आएको छ भने थोरै भए पनि राहतको सास फेर्ने अवस्था छ। जो जनताको सपना बिपनामा परिणत गर्ने वाचा गरिरहेका थिए, तिनीहरू स्वयं अहिले पानी पिएर बसिरहेका छन् कि पखालिएर गइसके, थाहा छैन। हिजोका भाषण आज धुलोमा मिसिएको छ।

चुनावको बेला यस्तो लाग्थ्यो, वीरगंजमा अब पानीभन्दा बढी नेता हुन्छन्। हरेक गल्लीमा, चिया चोकमा, एउटा उम्मेदवार उभिएका देखिन्थे — हातमा माइक, मुखमा मधेसप्रेम, भोलिका योजनाहरूको बर्खा। लाग्थ्यो, अबको पाँच वर्षमा नालीको पानी पनि पिउन लायक बनाइदिनेछन्। तर चुनाव सकिएपछि ती सबैको योजना पनि बाल्टीनजस्तै रित्तिएको छ।

साँचो कुरो के हो भने, राजनीति अब सेवा होइन, मौसमी सिजनजस्तै देखिन्छ। जस्तै जाडोमा चुनाव आयो भने उम्मेदवारले स्वेटर ओढेर समाजसेवाको अभिनय गर्छन्, अनि गर्मीको मौसममा ती स्वेटर फालिएझैं, सबका सब गायब! पानीको हाहाकार भइरहँदा ती चुनावका बेला अङ्कुरित भएका मौसमी सेवक र उनीहरुका कार्यकर्ता आज कुन कोठामा कति एसी घुमाइरहेका छन्, जनतालाई खासै चासो भएन। चासो त त्यसबेला लाग्छ, जब बिहान चार बजेदेखि धारामा बाल्टी राखेर पानीको थोपाको आशामा घन्टौं बित्छ

चुनावको बेला नेताहरुको बोलीमा जति पानी हुन्छ, त्यति नै उनीहरुको कर्ममा सुक्खा। सत्तामा पुगेकालाई त जो-जसरी होला, प्रश्न गर्न सकिन्छ। तर हारेकाहरुलाई सोध्ने आधार नै छैन। उनीहरू त पराजयको पर्दा ओढेर समाजबाटै अदृश्य हुने जातका हुन्।

पानी त के, जनताको आँशुमा पनि राजनीति हुने ठाउँ हो, मधेस। वीरगंजको राधेमाई टोलमा धारामा लाइनमा बस्दै महिलाहरुले कुरा गर्दै थिइन्, “चुनाव के बेरा टलाकुन नेतालोग भोट मांगे आवेला, आज पानी के आकाल के समय में हारल नेतालोग देखाई नईखे देत।” त्यसैमध्ये कि एक महिलाले झोंकिदै भनिरहेकी थिइन्, “ओइसन नेतालोग चुनावी उडिस ह।” 

विपतको बेला सान्तवना दिनेहरुको भिड नै देखिन्न ! उनीहरु त चुनावी उडिस हुन्, यस्तो सत्य सुन्दा नेता हाँस्लान् कि लाजले आँखा झुकाउँलान् — थाहा छैन। तर जनताले बुझिसकेका छन् — चुनावको बेला प्रतिकुल समयमा साथ दिने वाचा गरेर नथाक्ने ती नेताहरू आफैं निर्जल राजनीतिक ओठ हुन्, जसमा शीतलता होइन, सस्तो अभिनयको भल्गर नाटक भरिएको हुन्छ।

यस्तो होइन कि उनीहरुले मतै नपाएका होलान। कमबेस जे भए पनि मत पाएकै होलान। अनि जुन मतदाताले मत दिएका होलान्, उनीहरुको मनमा आज के चलिरहेको होला ?    

हुन त हाम्रो समाजमा विपक्षी पनि एक किसिमको हरेस खाएको शिकारी जस्तै हुन्। चुनाव हारिसकेपछि ‘जनताको मुद्दा उठाउने’ भनेर बचेका दुई चारजना पनि कहिले कता गएका हुन्, पानी जस्तो हराएका छन्। उनीहरू अवश्य पुन: आगामी चुनावको रणनीतिमा रमिरहेका होलान्, न कि टोलटोलमा पानी नपाएर हैरान जनतालाई सम्झाउने काममा।

यस्तो अवस्थामा जनताले प्रश्न गर्न थाल्नुपर्छ — जित्नेले मात्रै होइन, हार्नेले पनि जिम्मेवारी बोकेको हुन्छ कि हुँदैन? नत्र त नेताहरू चुनावताका आउने ‘चुनावी उडुस’ जस्ता हुन् — जो जनताको रगतमा झुण्डिन्छन्, भोट पिएर सुत्छन्, अनि हराउँछन्।

अब हामीलाई आश्वासन होइन, पानी चाहिएको हो। भाषण होइन, धारो चाहिएको हो। फोटोसेसन होइन, समाधान चाहिएको हो। अनि खासगरी चाहिएको हो — हिजो ‘जनताको सेवा गर्न आएका’ ति हरुवा उम्मेदवारहरूको जवाफ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here