वीरगंज, ०३ साउन – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा वर्षासँगै हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानहरूमा र मधेश, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा समेत हुन सक्ने जनाइएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा राति पनि हल्का देखि मध्यम वर्षा र हिमपात सम्भव रहेको विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थानको आसपासमा रहेकाले देशका धेरै स्थानमा वर्षा सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

























