तस्वीर : सौजन्य

वीरगंज, ०३ साउन – “दिन-दुखी, असहायको सेवा नै मानवताको साँचो धर्म हो,” अधिवक्ता प्रकाश उपाध्यायले भने। वीरगंज–७ कुम्हालटोल टोल सुधार समाजद्वारा आयोजित १२औं मासिक निश्शुल्क भोजन कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै उनले सम्पूर्णलाई यस्तो सेवाकार्यमा हातेमालो गर्न आह्वान गरे।

कुम्हालटोल टोल सुधार समाजले लगातार १२ महिनादेखि मासिक रूपमा गरिब, असहाय तथा दिनदुखिहरुलाई गुणस्तरीय र पोषिलो भोजन खुवाउँदै आएको छ। अधिवक्ता उपाध्यायले कार्यक्रममा सहभागी भई स्वयंसेवकको रूपमा सेवा गर्दै यस्तो कार्यमा प्रत्यक्ष सहभागी हुन पाउँदा हर्ष व्यक्त गरे। “भोजन खुवाउँदा जस्तै गरी बसी-बसी सोधेर थप्ने परिपाटीले सेवामा आत्मसन्तुष्टि मिल्यो,” उनले भने।

विज्ञापन

कार्यक्रममा समाजका अध्यक्ष नन्दलाल राउत अहिरले अबदेखि प्रत्येक महिनाको पहिलो शनिवार मात्र नभएर हरेक पन्ध्र दिनमा एक पटक, त्यसपछि हरेक शनिवार निश्शुल्क भोजन शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। यद्यपि, यसका लागि अझै मानवताप्रेमी सहयोगी हातहरूको हातेमालो आवश्यक रहेको उनको भनाइ थियो।

तस्वीर : सौजन्य

आजको शिविरमा रेल्वेरोडस्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा आयोजित कार्यक्रम अन्तर्गत बाटोमा हिँडिरहेका बटुवा, रिक्सा–ठेला चालक, पर्यटक, गरिब तथा असहाय व्यक्तिहरूलाई दाल–भात, परवल–आलु–चना तरकारी, हरियो खुर्सानीको अचारसहितको गुणस्तरीय भोजन निशुल्क वितरण गरिएको थियो।

कार्यक्रममा अतिथिका वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, कञ्चनजंघा स्कुलका निर्देशक मार्टिन मोक्तान, समाजसेवी मदन यादव, नवराज भट्टराई, हेमन्त शाक्य, बैधनाथ साह, रितेश गुप्ता, श्रवणबहादुर रायमाझी, गोबिन्द ताम्राकार लगायत स्थानीय अग्रज र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

युवा समाजसेवी नवराज भट्टराईले यस्ता सेवामूलक कार्यहरूले समाजमा सकारात्मक ऊर्जा थप्ने र मानवता बलियो बनाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here