वीरगंज, ०३ साउन – रोजगारीको खोजीमा दुबई गएका पर्सा जिल्लाको पोखरिया नगरपालिका–८, जगतपुर निवासी तपसी मुखिया विगत एक वर्षदेखि सम्पर्कविहीन छन्। दुबई पुगेको केही महिनापछि नै परिवारको सम्पर्कबाट हराएका तपसीको अवस्थाबारे कुनै जानकारी नहुँदा परिवार मानसिक पीडामा छन्।
रोजगारीमा पठाउने एजेन्टले पनि फोन उठाउन छाडेकाले पीडित परिवारले ठगी र बेवास्ताको आशंका गरेका छन्। “न त छोरा बोल्छ, न त एजेन्टले केही बताउँछ,” भनी आमाले रुँदै भनिन्, “हामीले त अब भगवानलाई मात्रै गुहार्ने हो।”
छपकैया हिन्दु युथ्सले उक्त पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ। सहयोग सामग्रीमा चामल ६० किलो, आटा २६ किलो, दाल ५ किलो, बेसन, तेल, आलु १० किलो, नुहाउने र कपडा धुने साबुन, प्याज ५ किलो, मसला र बिस्कुट लगायतका आवश्यक सामग्रीहरू रहेका छन्।
सहयोग हस्तान्तरणका क्रममा हिन्दु युथ्सका प्रतिनिधिहरूले भने, “हामी मानवताको हैसियतले पीडित परिवारको साथमा उभिएका हौं। समस्यामा परेका परिवारलाई सक्दो सहयोग गर्नु हाम्रो कर्तव्य हो।”
यसअघि अभितक मिडियाको फेसबुक पेजमार्फत २५ असारमा उक्त परिवारको पीडा प्रसारण गरिएको थियो, जसले आमसरोकारको ध्यान खिच्न सहयोग गर्यो। पोस्ट सार्वजनिक भएपछि स्थानीय तथा सामाजिक अभियन्ताहरूले परिवारको अवस्थाबारे चासो राख्दै सहयोग गर्न थालेका छन्।
परिवारले सम्बन्धित सरकारी निकाय, मानव अधिकार आयोग र वैदेशिक रोजगार विभागलाई तपसी मुखियाको खोजी तथा एजेन्टविरुद्ध कारबाहीको लागि आग्रह गरेका छन्।

























