सांकेतिक तस्विर

वीरगंज, ०७ साउन — वीरगंज तथा आसपासका क्षेत्रहरूमा केही दिन यता पानी नपर्दा जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ। वर्षा अभावका कारण वीरगंजका अधिकांश चापाकल सुकेका छन् भने दैनिक उपभोगको पानीका लागि सर्वसाधारण ट्यांकर, खानेपानी संस्थान र डिप बोरिङ्गमा भर पर्न बाध्य भएका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको देशभर आंशिकदेखि सामान्य बदली रहने तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना उल्लेख गर्दै आएको छ। यद्यपि, मधेसका अन्य भागमा छिटफुट वर्षा भए पनि विशेषगरी वीरगंज क्षेत्रमा झरी पर्ने कुनै सङ्केत देखिएको छैन।

भूसतह रिचार्ज नहुँदा वीरगंजका चापाकलहरू सुक्न पुगेका छन्। यसले गर्दा बिहान बेलुका दैनिक कार्यमा कठिनाइ हुने अवस्था छ। खासगरी मुख्य सडकभन्दा पर भित्री टोल र बस्तीमा बसोबास गर्ने नागरिकहरूलाई अझ बढी सास्ती भएको छ। कतिपय मानिसहरू शहरको असुविधाबाट आजित भई गाउँतिर लाग्न थालेका छन्।

मङ्गलवार साँझ पर्सा र बाराका उत्तरी क्षेत्रहरूमा केहीबेर हल्का पानी परेको थियो। तर जमिन यति सुक्खा भइसकेको छ कि यस्तो सामान्य पानीले कुनै राहत दिएको महसुस हुन सकेन। स्थानीयबासीहरू भन्छन्, “मौसम विभागले वर्षाको सम्भावना भने पनि यहाँ पानी कहिले पर्छ भन्ने ग्यारेन्टी छैन। धेरै आश गरेर बस्दा पनि सुक्खा मौसमले झन् हैरान बनाएको छ।”

पानीको सङ्कटसँगै नागरिकहरूका स्वास्थ्य, सरसफाइ र दैनिक जीवनका अन्य पक्षहरूमा समेत असर पर्न थालेको छ। यस्तो परिस्थितिमा स्थानीय तह, प्रदेश सरकार र सरोकारवालाहरूले ठोस कदम चाल्नु पर्ने माग तीव्र रूपमा उठ्न थालेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here