वीरगञ्ज । वर्षाको पानी निकास नहुँदा लामो समयदेखि डुबानको सास्ती खेप्दै आएका वीरगञ्ज महानगरपालिकाका तीन वडाका बासिन्दाले अन्ततः राहत पाएका छन्। महानगरपालिकाले योजनाबद्ध रूपमा समस्या समाधान गरेपछि वडा नम्बर १७, २४ र २६ का स्थानीयवासीमा खुसीयाली छाएको हो।
यी वडाहरूमा वर्षाको पानीको प्राकृतिक निकास अवरुद्ध हुनुका साथै पर्याप्त नाला र पाइपलाइनको अभावका कारण हरेक वर्ष बस्ती डुबानमा पर्ने गरेको थियो। सडक तथा घर–आँगनमा पानी जम्ने, घरभित्रै पानी पस्ने र आवतजावत पूर्ण रूपमा प्रभावित हुने अवस्थाले स्थानीयको दैनिकी कष्टकर बन्दै आएको थियो। विगतमा समस्या समाधानका प्रयास भए पनि स्थानीय तहमा सहमति नजुट्नु र प्राविधिक अवरोधका कारण दीर्घकालीन समाधान हुन सकेको थिएन।
यसपटक महानगर प्रमुख राजेशमान सिंहको विशेष पहलमा समस्या समाधानको बाटो खुलेको हो। प्रमुख जिल्ला अधिकारी, पर्सा प्रहरी प्रमुख तथा सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै अवरुद्ध निकास खोल्ने विषयमा सहमति जुटाइएको थियो। स्थानीयवासीसँग निरन्तर संवादपछि महानगरको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी पानी जम्ने मुख्य बिन्दु पहिचान गरेको थियो।
त्यसपछि ती स्थानहरूमा ठूला ह्युम पाइप (ड्रेनेज पाइप) जडान गरी संरचनागत सुधार गरिएको छ। नयाँ संरचना निर्माणपछि वर्षौँदेखि जमेर बस्ने पानी सहज रूपमा बाहिर निस्कन थालेको महानगरले जनाएको छ।
लामो समयदेखिको समस्या समाधान भएपछि स्थानीय बासिन्दाले महानगरको पहलप्रति आभार व्यक्त गर्दै अब वर्षायाममा ढुक्कसँग बस्न पाउने विश्वास व्यक्त गरेका छन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले यसलाई शहरी व्यवस्थापनतर्फको महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार महानगरले आगामी दिनमा अन्य डुबान प्रभावित क्षेत्रको पनि पहिचान गरी चरणबद्ध रूपमा निकास सुधारको काम अघि बढाउनेछ। साथै, निर्माण भएका संरचनाको नियमित अनुगमन, मर्मत तथा सरसफाइलाई प्राथमिकतामा राख्दै शहरी पूर्वाधारलाई थप सुदृढ बनाइने योजना रहेको छ।

























