कारागारमा रहेको प्रमाणित कागजातको आधारमा कारागारमा जन्मेको बच्चाको जन्मदर्ता गर्न सकिने युनिसेफकी सिर्जना नेपालले बताइन् ।
अभितक, माघ १८ वीरगंज। युनिसेफको सहयोगमा पोखरिया नगरपालिकाले जन्मदर्ता, विद्यालय भर्ना तथा बालविवाहविरुद्धको अभियान अन्तर्गत नगरपालिकास्तरीय रणनीतिक योजना निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधवार सम्पन्न गरेको छ ।
बालबालिका जन्मेपछि जन्मदर्ता गराउने, ३५ दिनभित्र जन्मदर्ता गरेमा शुल्क नलाग्ने, जन्मदर्ता गर्न सूचकले निवेदन कसरी दिने, आफू बसेको पालिकाको कार्यालय वा वडा कार्यालयमा तोकिएका स्थानीय पञ्जिकाधिकारी समक्ष आवश्यक कागजात जन्मदर्ता गर्ने र जन्मदर्ताको प्रमाणपत्र प्राप्त गर्ने, आमा र बुबा तथा परिवारका प्रमुख व्यक्ति जन्मदर्ताको सूचक हुन सक्ने, आमाबुबा वा एकाघरका परिवार, कानूनत सूचक नभएको अवस्थामा सम्बन्धित पालिका प्रमुख सूचक बनी जन्मदर्ता गर्न सकिने जानकारी गराइएको थियो ।
यसैगरी, आमा सूचक बनेर बुबाको ठेगाना नभएको बेहोरा जनाएर पनि आमाको नामबाट जन्मदर्ता गर्न सकिने जानकारी गराइएको थियो । नेपालमा जन्मेको प्रमाणपत्र राखी विदेशी नागरिकको जन्मदर्ता गर्न सकिने तर यसको लागि नेपालमा राजदूतावास वा महावाणिज्य दूतावासले उपलब्ध गराएको ट्राभल डकुमेन्टको आधारमा नेपाली आमाबाट विदेशमा जन्मेका तर बुबा नखुलेका बालबालिकाको हकमा आमा सूचक भएर जन्मदर्ता गर्न सकिने जानकारी गराइएको थियो ।
त्यस्तै, कारागारमा रहेको प्रमाणित कागजातको आधारमा कारागारमा जन्मेको बच्चाको जन्मदर्ता गर्न सकिने युनिसेफकी सिर्जना नेपालले बताइन् ।
बालविवाहको सन्दर्भमा पालिका र वडास्तरीय बजेट विनियोजन गरी जनचेतना फैलाउनुका साथै नीति नियम बनाएर यसमा हँदैसम्म रोक लगाउन सकिने उनले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्वता जनाए । उनले बालविवाह समाजमा अभिशाप बनेको र यसलाई रोक्न सकेनौं भने भयावह स्थिति सिर्जना हुन सक्ने चेतावनी दिए । उनले बालविवाहले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या निम्त्याउने भएकाले सजग हुन जरुरी रहेको चर्चा गरे ।
कार्यक्रममा उपप्रमुख रुबी ठाकुर, निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, सामाजिक शाखा प्रमूख कौशेलन्द्र मिश्र, वडा अध्यक्ष, सचिव, सदस्यहरु, प्रध्यानाध्यपक ओमप्रकाश रौनियार, पोखरिया युवा समाजलगायतको सहभागिता थियो ।