विरगंज, १८ जेठ। बिहीवारको हावाहुरीले ठोरी गापा-५, गडुवालाईनस्थित विशाल वरवृक्ष ढलेको समाचार प्राप्त भएको छ । सुवर्णपुर तथा सो क्षेत्रको पवित्र धार्मिकस्थलको रुपमा परिचित विशाल वरवृक्षसँगै सेतीदेवी मन्दिर र पुजारी बस्ने कुटीमा क्षति पुगेको स्थानीय मानिसहरुले बताए ।

हावाहुरीका कारण करीब २५ लाख बराबरको क्षति भएको ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पदमलाल श्रेष्ठले बताए । झन्डै आठ दशक पुरानो वरवृक्ष ५ कट्ठा क्षेत्रफलमा फैलिएको उनले बताए ।

गडुवालाईन लगायत आसपासका स्थानीयहरुले धार्मिक/मांगलिक अवसरमा वरवृक्षको पूजा नगरी नहुने ऐतिहासिक महत्व रहेको गडुवालाईन निवासी बिमल खड्काले बताए ।

दुई दशक अघिसम्म, हरेक वर्ष जनैपुर्णिमाको दिन उक्त स्थानमा धामीझाँक्रीको नाच हुने गरेको स्थानिहरु बताऊँछन्। सो अवसरमा वरवृक्षको टुप्पोमा सधैं बस्ने सर्पले नाचको अवलोकन गर्ने गरेको गडुवालाईनका देवी प्रसाद दाहालले बताए । झाँक्रीले नाच्ने क्रममा सो ठाउँ सेतीदेवीको स्थान रहेको बताएपछि सेतीदेवीको पुजा अर्चना हुने गरेको स्थानीयबासीको भनाइ छ । त्यसैगरी, हरेक वर्ष पितृको सम्झनामा दीप प्रज्वलन गर्ने बाला चतुर्दशीका दिन जात्रा समेत लाग्ने गरेको बताइन्छ ।

आर्थिक वर्ष २०७४/७५ देखि तीन आर्थिक वर्षमा ठोरी गापाको १२ लाखको लागतमा सो क्षेत्रमा सेतीदेवीको मन्दिर निर्माण गरिएको थियो । त्यसैगरी, मन्दिर तथा पुजारीको बसोबासको लागि प्रदेशसभा सदस्य शङ्कर प्रसाद चौधरीको विकास कोषबाट ५ लाखको लागतमा कुटी निर्माण गरिएको थियो। त्यसैगरी, स्थानीयवासीहरुको प्रयास र सहयोगमा पक्की कुर्सी र बस्ने ठाउँको समेत व्यवस्था गरिएको थियो । बिहीवारको हावाहुरीले वरवृक्षसँगै भैतिक संरचनामा क्षति पुगेको छ । हिन्दुहरुको धार्मिक केन्द्र रहेको उक्त स्थानको पुनर्निर्माण गर्नुपर्ने स्थानीय मानिसहरुको माग छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here