वीरगंज, २७ माघ । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (काव्य/पद्य) विभाग र भोजपुरी प्रतिष्ठान, वीरगंजको सहकार्यमा आयोजित मधेस प्रदेशस्तरीय प्रज्ञा–नारी सङ्गोष्ठी शनिवार त्रिजुद्ध माविमा सम्पन्न भएको छ ।

मधेस प्रदेशको सातवटै जिल्लाबाट महिला कवियित्रीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सप्तरीकी मिन्टू पटेलले, “जा ए मोबाइल इ तु का कइलु“ शीर्षकमा सुमधुर कविता प्रस्तुत गरिन् ।

कार्यक्रममा धनुषाकी पूनम झा मैथिलीले, ‘माय के ममता’ शीर्षकमा मैथिली कविता र सर्लाहीकी सुमिता आचार्यले, ‘कानूनको देशमा भन्नुहोस्, यो दण्ड हो कि पुरस्कार’ व्यङ्ग्यात्मक कविता प्रस्तुत गरिन् ।

रौतहटकी रेनुका जिसीले, ‘चाँदनी पासवानलाई हिसाब आउँदैन’ शीर्षक कवितामार्फत एउटी अनपढ महिलाको व्यथा चित्रित गरेकी थिइन् । कन्या मावि वीरगंजकी शिक्षिका अनुकुमारी मेहताले ‘ए बबी एगो कविता लिख’ शीर्षकको कविता पढेर  आफू नवप्रतिभा रहेको कुरा श्रोतालाई मन्त्रमुग्ध पार्नेगरी प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा रञ्जना झा, रीता चौधरी, सीता अधिकारी, मञ्जुकुमारी कोइराला, अस्मिता पटेल, उर्मिला गिरी र सानिया हाडालगायतले कविता प्रस्तुत गरेका थिए ।

भोजपुरी प्रतिष्ठान, वीरगंजकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी साहित्य (काव्य/पद्य) विभाग प्रमुख बाबा बस्नेत, भोजपुरी प्रतिष्ठानका सल्लाहकारद्वय गोपाल अश्क र प्रमोद पाण्डेय, नेपाल प्रज्ञा प्रतिष्ठान महाशाखा प्रमुख सन्ध्या पहाडी, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, साहित्यकार मुकुन्द आचार्य, ध्रुवसिंह ठकुरी र आमोद गुप्ता लगायतको उपस्थिति थियो । गीता भण्डारीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने पत्रकार माधुरी महतोले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here