वीरगन्ज। विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा डीआर उपाध्याय (धर्मराज खनाल) को १७ औं उपन्यास ‘आसक्ति’ काठमाडौंमा सार्वजनिक गरिएको छ। साहित्यिक पत्रकार सङ्घको आयोजनामा आयोजित कार्यक्रममा सांसद डा. अमरेशकुमार सिंहले कृतिको लोकार्पण गरे ।
महाकाव्यकार खेमनाथ दाहालले कृतिमा मानव मनको द्वन्द्व र सामाजिक यथार्थ झल्किएको बताए। कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, सागर अधिकारी ‘घायल’, वसन्त वित्यासी थापालगायतले डा. उपाध्यायको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै शुभकामना व्यक्त गरे।
डा उपाध्यायले समाजका यथार्थ घटनालाई साहित्यमा उतार्दै जाँदा कीर्तिमानहरू बनेको बताउँदै कृति नेपाली साहित्यको अन्तर्राष्ट्रिय परिचय बन्न सक्ने विश्वास व्यक्त गरे।
डा. उपाध्यायले हालसम्म गीत, कविता, उपन्यासलगायत विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरिसकेको जनाइएको छ।
























