काठमाडौँ । बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रप्रअ गौरीशंकर कुमार सिंह, लेखा अधिकृत मुकेशप्रसाद साह तथा नेपाल मिडिया हाउस प्रा.लि.सँगै प्रबन्ध निर्देशक नवराज निरौला उपर कैद तथा जरिवानाको मागदाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँले मङ्गलवार आरोप पत्र दायर गरेको छ।

फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह र लेखा अधिकृत मुकेश प्रसाद साहले फेटा गाउँपालिका, बाराबाट आ.व.२०७९।०८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्यको लागि बोलपत्र आव्हानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा नेपाल मिडिया हाउस प्रा.लि.का निर्देशक नवराज निरौलासँगको मिलोमतोमा उक्त बोलपत्र आव्हानको सूचना सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशन नगरी नगराई लुकाई, छिपाई फेटा गाउँपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी उक्त पत्रिकाको सोही मिति र अंकको देखिने गरी केही प्रतिमा मात्र बोलपत्र आह्वानको सूचना समावेश गराई सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा नेपाल मिडिया हाउस प्रा.लि.को बिलबाट रु.१,४२,१६०/- (भ्याट बाहेक) रकम भुक्तानी दिएको पुष्टि भएको हुँदा प्रतिवादीहरु गौरी शंकर कुमार सिंह र मुकेश प्रसाद साहलाई भ्रष्टाचार निवारण ऐनको कसुरमा बिगो रु.१,४२,१६०/- कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ।

विज्ञापन

यसैगरी, नेपाल मिडिया हाउस प्रा.लि. तथा उक्त कम्पनीका प्रबन्ध निर्देशक नवराज निरौलाले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह र लेखा अधिकृत मुकेशप्रसाद साहसँगको मिलोमतोमा फेटा गाउँपालिका, बाराबाट आ.व.२०७९।०८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य (PRM/04/079/80) बोलपत्र आव्हानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उक्त बोलपत्र आव्हानको सूचना सौर्य दैनिक पत्रिकाले प्रेस काउन्सिलमा पेश गरेको मिति २०७९।०७।२० मा प्रकाशित उक्त पत्रिकाको अभिलेखमा बोलपत्र सूचना प्रकाशन भएको नदेखिएकोले सूचना प्रकाशन नगरी नगराई लुकाई, छिपाई फेटा गाउँपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी उक्त पत्रिकाको सोही मिति र अंकको देखिने गरी केही प्रतिमा मात्र बोलपत्र आह्वानको सूचना समावेश गराई झुट्टा विवरण सहितको पत्रिकाको आधारमा रु.१,४२,१६०/- (भ्याट बाहेक) रकम भुक्तानी लिएको पुष्टि भएको हुँदा नेपाल मिडिया हाउस प्रा.लि. तथा उक्त कम्पनीका प्रबन्ध निर्देशक नवराज निरौलाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा मुख्य कसूरदारहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदार सरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here