भारत–पाकिस्तानबीच तनाव बढेपछि दुवै मुलुकमा भइरहेका क्रिकेट लिग प्रभावित भएका छन् । भारतको उत्तरी सहर धर्मशालामा बिहीबार साँझ पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल चल्दाचल्दै स्थगन गरिएको छ ।
पञ्जाब किंग्सले १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाएको अवस्थामा खेल रोकिएको हो । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले रंगशालामा ‘गम्भीर प्राविधिक समस्या’ भएकाले खेल रोक्नुपरेको जनाएको छ । तर, पाकिस्तानले जम्मु सहरमा आक्रमण गरेपछि विद्युत् आपूर्तिमा अवरोध र सुरक्षा चुनौतीले खेल रोकिएको अधिकारीहरूले जनाएका छन् ।
धर्मशालामा आइतबार हुने भनिएको आईपीएलको खेल यसअघि नै गुजरातको अहमदाबाद सहरमा सारिएको छ । गुजरात क्रिकेट संघका सचिव अनिल पटेलले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार धर्मशालामा हुने भनिएको पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको खेल अहमदाबादमा हुनेछ ।
यस्तै, पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा बिहीबार साँझका लागि निर्धारित पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको खेल रद्द गरिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अधिकारीले पीएसएलका बाँकी सबै खेल कराँची, दोहा र दुबईमा सार्न सुझाव दिएका छन् । पीसीबीले बुधबार भारतीय आक्रमण र दुई मुलुकबीच बढ्दो तनावका बाबजुद पीएसएल निर्धारित योजनाअनुसार नै अगाडि बढ्ने बताएको थियो । पीएसएल मे १८ मा समाप्त हुने तालिका छ, अन्तिम खेल लाहोरमा हुने तय छ ।