काठमाडौँ । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाइँमा सबैको साथमा रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैसँग साथमै उभिएको जनाएको हो ।
भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकवादी हमलापछि दुई देशबीच तनाव बढेको हो । पहलगाम घटनामा १ नेपाली नागरिकसहित २६ जनाले ज्यान गुमाएका थिए । ‘उक्त दुःखद घटना र साझा पीडामा नेपाल र भारत एक ठाउँमा उभिएका थिए,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘उक्त आततायी आतंकवादी हमलाको नेपालले तुरुन्तै स्पष्ट रूपमा भर्त्सना गरेको स्मरणीय छ । नेपालको आतंकवादविरुद्धको अडान दृढ छ ।’
भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपालले चिन्ता व्यक्त गरेको छ । साथै, आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता नेपालले जनाएको छ । भारत र पाकिस्तानबीचको द्वन्द्व कम हुने अपेक्षा गर्दै नेपालले यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने आशा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।