नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक गौरवको महत्वपूर्ण अध्याय हो—बुद्ध जयन्ती। प्रत्येक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती केवल एक धार्मिक उत्सव मात्र होइन, विश्वभरका करोडौं मानिसका लागि शान्ति, सहिष्णुता र मानवीय मूल्यहरूको सन्देश बोकेको अन्तर्राष्ट्रिय पर्व हो। विशेषतः नेपालका लागि यो पर्व अझ विशेष छ, किनभने बुद्धको जन्मभूमि लुम्बिनी यही पवित्र भूमिमा अवस्थित छ।
इ.पू. ५६३ मा शाक्यवंशका राजकुमार सिद्धार्थ गौतमको जन्म कपिलवस्तु राज्यको लुम्बिनीमा भएको थियो। यही सिद्धार्थ पछि तपस्या र आत्मज्ञानद्वारा बुद्ध बने—”बोधिसत्व” अर्थात् जाग्रत पुरुष। लुम्बिनी आज युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ र हरेक वर्ष हजारौं श्रद्धालु तथा पर्यटक यहाँ पुगेर शान्तिको अनुभूति गर्छन्।
बुद्ध जयन्ती तीनवटा प्रमुख घटनाहरूको त्रिसंयोग हो—सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति (बोधगया, भारतमा) र महापरिनिर्वाण (कुशीनगर, भारतमा)। यी सबै घटनाहरू वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिनको धार्मिक, दार्शनिक र ऐतिहासिक महत्व अपार छ।
नेपालभर बौद्ध धर्मावलम्बीहरू तथा अन्य धर्मका अनुयायीहरू पनि बुद्ध जयन्तीमा विशेष श्रद्धा व्यक्त गर्छन्। बौद्ध विहार र गुम्बाहरूमा पूजा, ध्यान, शान्तिपाठ, ध्वजापताका र दीप प्रज्वलन गरिन्छ। विशेष गरी लुम्बिनी, वीरगंज, काठमाडौं उपत्यका, पोखरा, भोटेबहाल, काभ्रे र इलाम लगायत देशका बिभिन्न ठाउँहरूमा विविध कार्यक्रम आयोजना गरिन्छ।
विद्यालय, सामाजिक संस्थाहरू र सरकारी तहमा समेत यस दिन शान्ति सन्देश प्रवाह गर्ने, रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण, पुस्तकमेला आदि आयोजना गरिन्छन्। नेपाली सरकारको तर्फबाट बुद्ध जयन्ती राष्ट्रिय विदाका रूपमा घोषणा गरिएको छ।
बुद्ध जयन्ती नेपालका लागि केवल धार्मिक पर्व नभई राष्ट्रिय गर्व र विश्व शान्तिको सन्देश दिनेको पर्व हो। नेपालले शान्तिका अग्रदूत बुद्धलाई जन्म दिएको राष्ट्रको रूपमा विश्वमाझ गर्वका साथ आफूलाई चिनाउँदै आएको छ। बुद्ध जयन्ती “बुद्ध जन्मिएको देश नेपाल” भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा फैलाउने एक सशक्त अवसर पनि हो।
वीरगंजमा सम्पन्न कार्यक्रम जस्तै देशभर यस्ता कार्यक्रमले बुद्धको शिक्षा र विचारलाई पुनः स्मरण गराउँदै मानवता र मेलमिलापको बाटो देखाउने कार्य गरिरहेका छन्। यस दिनको सन्देश हाम्रो सोच, बोली र व्यवहारमा झल्किनु नै बुद्धप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

























