राजेश मिश्र, वीरगंज – समाजसेवी तथा अधिवक्ता प्रकाश उपाध्यायले भगवान बुद्धको अहिंसा र विश्व शान्तिको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्। बुद्ध जयन्तीको अवसरमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साको आयोजनामा वीरगञ्जको भिस्वा डाँडामा जारी तेस्रो दिनको निःशुल्क शर्बत वितरण कार्यक्रममा बोल्दै उपाध्यायले युद्ध, द्वन्द्व र अशान्तिमा ग्रसित विश्वमा बुद्धले देखाएको मार्ग नै शान्ति र मानवताको आधार हो भनेका हुन्।
उनले भने, “आजको विषम परिस्थितिमा भगवान बुद्धको मार्ग अनुसरण गर्नु नै विश्व कल्याणको उपाय हो। यो नै बुद्धप्रति सच्चा सम्मान पनि हो। दिनदुःखी, असहायको सेवा गर्नु नै मानवता सुदृढ बनाउने मार्ग हो।”
बुद्ध जयन्ती, ज्ञान प्राप्ति दिवस र महापरिनिर्वाण दिवसको अवसरमा आयोजित कार्यक्रममा भिस्वा डाँडास्थित विश्वप्रसिद्ध स्तूप परिसरमा बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म करिब एक हजार ८ सयजना श्रद्धालु र भक्तजनलाई निःशुल्क शर्बत वितरण गरिएको प्रतिष्ठानका सहसचिव अजित भुजेलले जानकारी दिए।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष मुना कुमारी खनालले गरिन्। उनले प्रतिष्ठानका नाममा सहिद शिक्षाविद् मुकुन्द प्रसाद खनालको योगदान स्मरण गर्दै सामाजिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको उल्लेख गरिन्। आगामी दिनमा ग्रामिण भेगमा विभिन्न सेवा मूलक कार्यक्रम सञ्चालन गरिने समेत जानकारी दिइन्।
निशुल्क शर्बत वितरण कार्यक्रममा प्रतिष्ठानका सचिव लालबाबु सिंह, सदस्यहरु नवराज भट्टराई, अभिलाष गुप्ता, जय कुमार दनुवार, शान्ती माली, सुम्निमा राजभण्डारी, राजु गुप्ता, सुभाश सिंह लगायतको सक्रिय सहभागिता थियो। साथै, बिकन स्कुलका विद्यार्थीहरु सत्यम गुप्ता, इरेन उप्रेती, अन्कित सिंह, अन्श राउत, सार्थक गुप्ता तथा स्थानीय सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम समापनमा सहभागी सबै पदाधिकारी, स्वयंसेवक, शुभेच्छुक, सञ्चारकर्मी तथा विद्यार्थीप्रति आयोजक प्रतिष्ठानले हार्दिक आभार प्रकट गरेको छ।