नयाँ दिल्ली — भारतीय क्रिकेटका सुपरस्टार विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गर्दै क्रिकेट जगतलाई चकित पारेका छन्। ३६ वर्षीय कोहलीले आफ्नो १४ वर्षे टेस्ट यात्रामा १२३ खेलमा ३० शतक र ३१ अर्धशतकको मद्दतले ९,२३० रन बनाएका थिए।

भारतले इङ्गल्याण्ड भ्रमणको तयारी गरिरहेकै बेला आएको कोहलीको यो निर्णय अप्रत्याशित रह्यो। यसअघि रोहित शर्माले पनि टेस्ट क्रिकेटलाई बिदाइ दिइसकेका छन्, जसपछि भारतले अब नयाँ पुस्ताको नेतृत्वमा अगाडि बढ्ने तयारी गरेको छ। रिपोर्टअनुसार, शुभमन गिलले टेष्ट टोलीको कमान सम्हाल्ने सम्भावना छ।

विज्ञापन

कोहलीले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमार्फत एक भावुक पोस्ट शेयर गर्दै भने, “सेतो पोशाकमा खेल्नु मेरो जीवनको सबैभन्दा व्यक्तिगत अनुभव रह्यो। यो निर्णय सजिलो छैन, तर यो मलाई अहिले सही लागिरहेको छ।” उनले थप लेखे, “मैले खेललाई मेरो सबैथोक दिएको छु, र यसले मलाई मैले सोचेभन्दा बढी दिएको छ।”

विराट कोहलीले सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्ट डेब्यु गरेका थिए। त्यस वर्ष अस्ट्रेलिया भ्रमणमा सबैभन्दा संघर्षरत समयमा एडिलेडमा आफ्नो पहिलो टेस्ट शतक (११६ रन) बनाएर टोलीमा आफ्नो स्थान पक्का गरेका थिए।

भारतको सबैभन्दा सफल टेस्ट कप्तान

कोहलीले ६८ टेस्टमा कप्तानी गर्दै ४० खेलमा जित दिलाएका छन्। यो उपलब्धिसँगै उनी भारतका सबैभन्दा सफल टेस्ट कप्तान बने। उनी विश्व क्रिकेटमा चौथो सबैभन्दा सफल कप्तान थिए — ग्रीम स्मिथ (५३), रिकी पोन्टिङ (४८), र स्टिभ वा (४१) पछि।

ऐतिहासिक उपलब्धिहरू:

  • टेस्ट क्रिकेटमा ७ दोहोरो शतक बनाउने एक्ला भारतीय ब्याट्सम्यान।
  • कप्तानको रूपमा २० टेस्ट शतक, सुनील गावस्कर (११) लाई पछि पार्दै।
  • चौथो सबैभन्दा धेरै टेस्ट शतक बनाउने भारतीय — सचिन (५१), द्रविड (३६), गावस्कर (३४) पछि।
  • अस्ट्रेलियामा भारतलाई पहिलोपटक टेस्ट शृंखला जिताउने कप्तान।
  • उनको कप्तानीमा भारत सबैभन्दा लामो समयसम्म टेस्ट वरीयताको शिर्ष स्थानमा रह्यो।

कोहलीको टेस्ट क्रिकेटबाट बिदाइसँगै भारतीय क्रिकेटले एक गौरवशाली अध्याय बन्द गरेको छ। अब नजर नयाँ पुस्तातर्फ केन्द्रित हुँदैछ, जसको सुरुवात इङ्गल्याण्ड भ्रमणमा शुभमन गिलको नेतृत्वमा हुने सम्भावना छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here