अभितक मिडिया, वीरगंज /
विद्यार्थीहरूको बौद्धिक तथा शारीरिक विकासका लागि अध्ययनसँगै विभिन्न ज्ञानवर्धक क्रियाकलापहरुको आयोजना आवश्यक रहेकोमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले जोड दिए।
वीरगंजस्थित मदरल्यान्ड मा.वि.मा आयोजित अन्तरकक्षा सिङ्गार प्रतियोगिता (Class Decoration Competition) कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै खनालले यस्ता कार्यक्रमले विद्यार्थीको मानसिक क्षमता वृद्धि गराउनुका साथै स्वस्थ विद्यार्थी निर्माणमा सहयोग पुग्ने बताए। उनले विद्यालय परिवारको क्रियाशीलता र प्रयासको मुक्तकण्ठले प्रशंसा गरे।
प्रतियोगितामा कक्षा ७ ले १५० पूर्णाङ्कमा १३५ अङ्क ल्याएर प्रथम स्थान हासिल गर्यो। कक्षा ६ ले १३४ अङ्कसहित दोस्रो स्थान प्राप्त गर्दा कक्षा ४ र नर्सरीले समान १३३ अङ्क ल्याएर तेस्रो भए। कक्षा २ ले १३२ अङ्कसहित सान्त्वना स्थान प्राप्त गर्यो।
विजयी कक्षाका विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा शिल्ड प्रदान गरिएको थियो। प्रतियोगिताको निर्णायकको भूमिका कन्हैया गुप्ता, लालबाबु सिंह र रितेन्द्र झाले निर्वाह गरेका थिए भने भने कार्यक्रमको सहजीकरण विद्यालयका लेखापाल विजेता चौधरीले गरेका थिए।
कार्यक्रम विद्यालयका संस्थापक तथा प्रिन्सिपल डा. नन्दन यादवको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष पौडेल, रिपोटर्स क्लब पर्साका अध्यक्ष कन्हैया गुप्ता, कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, नेपाल पत्रकार महासंघ पर्साका जिल्ला सदस्य रितेन्द्र झा र प्रेस सेन्टर पर्साका जिल्ला कोषाध्यक्ष संजित गुप्ता अतिथिका रूपमा सहभागीता रहेको थियो।





















