काठमाडौँ — यू–१९ साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेश आमनेसामने हुने भएका छन्। शुक्रबार अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएपछि फाइनल प्रवेश गर्न असफल भयो।
बंगलादेशका लागि आशहिकुर रहमान र नज्मुल फैसलले एक–एक गोल गरेका थिए भने नेपालका तर्फबाट सुजन डंगोलले एकमात्र सान्त्वना गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा बंगलादेशले खेलमा पकड जमायो।
७४ औं मिनेटमा आशहिकुरले पहिलो गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए भने ८१ औं मिनेटमा नज्मुलले दोस्रो गोल थपे। खेलको ८७ औं मिनेटमा नेपालका सुजन डंगोलले एक गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन।
अर्को सेमिफाइनलमा आयोजक भारतले माल्दिभ्सलाई सहज रूपमा ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अब उपाधि भिडन्त आइतबार भारत र बंगलादेशबीच हुनेछ।
























