धनुषा — धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–१ स्थित रमदैयामा रहेको वान्डरल्याण्ड वाटरपार्कमा शनिबार दिउँसो विद्यार्थी र पार्क व्यवस्थापनबीचको झडपले उग्ररुप लिँदै तोडफोडसम्म पुगेको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायरसमेत गरेका छन्।
झडपको सुरुवात कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि कृष्णा फाउन्डेसनले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन आएका विद्यार्थीहरू र वाटरपार्क व्यवस्थापनबीच सामान्य भनाभनबाट सुरु भएको हो। घटनास्थलमा रहेका स्थानीयहरूका अनुसार पार्क प्रवेश र टिकट व्यवस्थापनमा भएको असमझदारीपछि विवाद चर्किएको थियो।
स्थिति बिग्रिएसँगै केही आक्रोशित विद्यार्थीहरूले ढुङ्गामुढा गर्न थालेका थिए। त्यसक्रममा पार्कको केही संरचनामा तोडफोड भएको जानकारी प्राप्त भएको छ।
तनाव बढ्दै गएपछि प्रहरी खटाइएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, भिड तितरबितर पार्न प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायरसमेत गर्नुपरेको थियो। हाल स्थिति नियन्त्रणमा रहेको जनाइएको छ, तर वातावरण अझै पूर्णरूपमा शान्त भइनसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, घटनाको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ र दोषी पहिचान गरी आवश्यक कानुनी कारवाही अघि बढाइनेछ।
स्थानीय बासिन्दा र विद्यार्थी संघसंस्था भने घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाहीको माग गर्दै छन्। पार्कमा भएको क्षतिको मूल्यांकन कार्य पनि सुरु भइसकेको छ।
























