सञ्जय यादव, वीरगंज /
वीरगंज राष्ट्रिय युवा सङ्घ नेपाल, पर्साद्वारा मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा मनाइने मदन–आश्रित स्मृति दिवसको अवसरमा वीरगंजमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। “जय युवा” भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रम वीरगंजको ऐतिहासिक स्थल घण्टाघर क्षेत्रमा सम्पन्न भयो।
कार्यक्रम विहानै ७ बजेबाट सुरु भएको थियो र दिउँसो १ बजेसम्म उत्साहजनक सहभागितासहित सम्पन्न भयो। कुल ४५ जनाले रक्तदान गरेका थिए, जसमा रक्तदान गर्ने उत्साही युवाहरूमा राष्ट्रिय युवा सङ्घ केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज रवि गुप्ता, दिलिप पाण्डे, सहिद अन्सारी, सोनु गुप्ता, रोहित पटेल, हासिम आलम, दीपक सिंह, सचिन यादव, अक्षय चौधरी, प्रदीप कुमार ढुंगाना, मनोज गिरी, रुस्तम अली लगायत युवाहरुले रक्तदान गरेको राष्ट्रिय युवा सङ्घका सचिवालय सदस्य सुजित गिरीले बताए ।
कार्यक्रमको उद्देश्य समाजमा रक्तदानप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै स्व. मदन भण्डारी र जीवराज आश्रितको आदर्श र योगदानको स्मरण गर्नु रहेको राष्ट्रिय युवा सङ्घ, पर्सा जिल्ला सचिव राकेश महतोले बताए। आयोजक युवा नेताहरूका अनुसार यस्ता कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र युवालाई सक्रिय जिम्मेवार नागरिक बनाउने उद्देश्य राखिएको छ।
नेताहरूको उपस्थितिले थप गरिमा
उक्त कार्यक्रममा नेकपा एमालेका विभिन्न नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेताहरूमा प्रह्लाद गिरी, नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज प्रभु हजारा, केन्द्रिय सदस्य निर्मल देवकोटा, नेकपा एमालेका कार्यवाहक अध्यक्ष मनोज गुप्ता, जिल्ला कमिटी सचिव महेश दास, केन्द्रिय सचिवालय सदस्य मह्मद निजामुदिन, राष्ट्रिय युवा सङ्घ केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज रवि गुप्ता, युवा प्रचार प्रमुख अरुण यादव, राष्ट्रिय युवा सङ्घ पर्साका जिल्ला अध्यक्ष सुभाष साह, सचिव राकेश महतो, सह-सचिव सहिद अन्सारी, सचिवालय सदस्य महम्मद मेराज र नसिम अख्तर लगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमलाई सभ्य र व्यवस्थित बनाउन स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका थिए।
युवाको ऊर्जा समाजसेवातर्फ
कार्यक्रममा बोल्दै युवा नेताहरूले रक्तदान जस्तो जीवनदायी कार्यमा युवाहरूको सहभागिता हुनु अत्यन्त गर्वको कुरा भएको बताएका छन्। उनीहरूका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिइनेछ।
स्मृति दिवसको अवसरमा आयोजना गरिएको यो रक्तदान कार्यक्रम सामाजिक उत्तरदायित्वप्रति युवाको समर्पणको उदाहरणीय पहल भएको सहभागीहरूले बताएका छन्।

























