हैदराबाद, (भारत) — हैदराबादको ऐतिहासिक गुलजार हाउस क्षेत्रमा अवस्थित एक भवनमा भएको भीषण आगलागीमा परी कम्तीमा १७ जनाको ज्यान गएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार घटनाको कारण सर्ट सर्किट रहेको तेलङ्गाना राज्यको विपद् प्रतिक्रिया तथा अग्नि सेवाका महानिर्देशक वाई. नागी रेड्डीले आइतबार जानकारी दिएका छन् ।
रेड्डीका अनुसार, “प्रारम्भिक जाँचमा आगलागी सर्ट सर्किटका कारण भएको पुष्टि भएको छ । सबै मृतकको मृत्यु धुवाँले दम निसास्सिएर भएको हो । कसैलाई पनि आगोले जलाएको चोट लागेको थिएन ।”
आगलागी गुलजार हाउसस्थित ‘कृष्णा पर्ल्स’ गहना पसल र त्यससंग जोडिएको आवासीय परिसरमा बिहान करिब ६:१६ बजे सुरु भएको थियो । अग्नि विभागले एक मिनेटभित्रै प्रतिक्रिया जनाउँदै ११ वटा दमकल र पर्याप्त संख्यामा उद्धारकर्मीहरू परिचालन गरेको थियो ।
“हामीले श्वासयन्त्र र अक्सिजन मास्क प्रयोग गरेर उद्धारको प्रयास गर्यौं । तर दुर्भाग्यवश १७ जनाको ज्यान जोगाउन सकेनौं,” रेड्डीले भने ।
घटनास्थलको संरचना नै उद्धारमा प्रमुख अवरोध भएको बताइएको छ । भवनमा सुरुङजस्तो झन्डै दुई मिटर चौडाइको मात्र एउटा प्रवेशद्वार र माथिल्लो तल्लामा पुग्न एक मिटर चौडाइको मात्र सिँढी रहेकोले आगो नियन्त्रण र उद्धारमा अत्यधिक कठिनाइ भएको जनाइएको छ । आगो बिहान ९ बजेपछि मात्रै पूर्ण नियन्त्रणमा आएको थियो ।
भवनभित्र २१ जना थिए, जसमध्ये १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलङ्गाना अग्नि विपद् प्रतिक्रिया तथा नागरिक सुरक्षाले जारी गरेको सूचीअनुसार मृतकमध्ये आठ जना १० वर्षमुनिका बालबालिका थिए ।
राज्यका मुख्यमन्त्री ए. रेवन्त रेड्डीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबै पीडित परिवारहरूलाई आवश्यक सहयोग प्रदान गर्न शीर्ष अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गराउन आदेशसमेत दिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत रु २ लाख र घाइतेहरूलाई रु ५० हजारको आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।
यस हृदयविदारक घटनाले भवन संरचना तथा अग्नि सुरक्षा प्रवन्धप्रति गम्भीर प्रश्न उठाएको छ । अधिकारीहरूले विस्तृत अनुसन्धान सुरु गरिसकेका छन् ।

























