वीरगंज, पर्सा । ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना प्रकरणको विरोधमा आक्रोशित विद्यार्थीहरूले सोमबार क्याम्पस परिसरमा व्यापक प्रदर्शन गर्दै मिटिङ हलमा तालाबन्दी गरेका छन्। विद्यार्थीहरूको आरोप अनुसार क्याम्पस प्रशासनले नक्कली कागजातको आधारमा केही विद्यार्थीलाई गैरकानुनी रूपमा भर्ना गरेको हो।
विगत केही महिनादेखि उजुरी, प्रमाण र मागपत्रहरू पेस गर्दा पनि प्रशासनले सुनुवाइ नगरेपछि आन्दोलनमा उत्रिनु परेको प्रदर्शनकारी विद्यार्थीहरूको भनाइ छ। आजको प्रदर्शनका क्रममा उनीहरूले क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमै थुनेर विरोध जनाएका छन्।
स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेललाई प्रहरीले पक्राउ गरेको पुष्टि भएको छ। प्रहरीले उनीहरूलाई क्याम्पस परिसरबाटै नियन्त्रणमा लिएको थियो। यस घटनापछि विद्यार्थीहरू झनै आक्रोशित बनेका छन् र थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
विरोधमा सहभागी एक विद्यार्थी नेताले भने, “महिनौँदेखि प्रमाणसहित कुरा राखिरहेका छौं, तर प्रशासन बेखबर बनेको छ। जबसम्म निष्पक्ष छानबिन हुँदैन, हाम्रो आन्दोलन जारी रहनेछ।”
स्थानीय विद्यार्थी संगठनहरू, विभिन्न राजनीतिक युवा संगठनहरू तथा नागरिक समाजका प्रतिनिधिहरूले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। तर क्याम्पस प्रशासन भने घटनाप्रति मौन देखिएको छ। थुनिएका शिक्षक तथा कर्मचारीलाई पछि प्रहरीले उद्धार गरेको जानकारी प्राप्त भएको छ।
फर्जी भर्ना प्रकरणले क्याम्पसको शैक्षिक र प्रशासनिक विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। विद्यार्थीहरूले स्पष्ट रूपमा भनेका छन्– “जबसम्म दोषीउपर कारबाही हुँदैन, आन्दोलन रोकिने छैन।”

























