वीरगंज – आज दिउँसोदेखि रातिसम्म देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने र कतिपय स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनसक्नेछ।
देशका उच्च-पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ। मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरू मुख्यतया सफा वा आंशिक बदली रहनेछन्। यी प्रदेशका थोरै स्थानहरूमा र अन्य भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ।
उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षा वा हिमपातको पनि सम्भावना छ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाइरहेका छन्। साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत आंशिक प्रभाव जमाएको छ, जसका कारण देशका विभिन्न भागमा मौसम परिवर्तनशील देखिएको विभागले जनाएको छ।
विभागले देशभरका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन, विशेष गरी बाहिर यात्रा गर्ने तथा कृषि कार्यमा संलग्न व्यक्तिहरूलाई मौसमको पूर्वानुमानअनुसार सचेत रहन आग्रह गरेको छ।
























