जेरुसलेम/गाजा — गाजा क्षेत्रमा इजरायली आक्रमण चर्किंदै जाँदा प्यालेस्टिनी समूह हमासले ६० दिनको नयाँ युद्धविराम प्रस्ताव अघि सारेको छ। कतारको राजधानी दोहामा शनिबार भएको वार्तापछि हमासले बन्धक रिहा तथा मानवीय सहायता प्रवेशलाई प्रमुख एजेन्डा बनाउँदै प्रस्ताव अघि सारेको हो।

बीबीसीका अनुसार, हमासले ९ इजरायली बन्धक रिहा गर्ने सर्तमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई छुटाउनुपर्ने माग गरेको छ। साथै, दिनहुँ ४ सय सहायता ट्रक गाजामा प्रवेश दिनुपर्ने र बिरामीलाई बाहिर लैजान दिनुपर्ने प्रस्तावमा उल्लेख छ।

तर इजरायली सेना फिर्ता गर्ने वा युद्ध अन्त्य गर्ने विषय भने प्रस्तावमा छैन। इजरायली सेनाले चार दिनअघि सुरु गरेको ‘अपरेसन गिडिओन्स च्यारियट्स’ मा गाजामा कम्तीमा ३ सय जना मारिएको उद्धारकर्ताहरूले जनाएका छन्। आक्रमणले अस्पताल र शरणार्थी शिविरसमेत ध्वस्त पारेको छ।

इजरायलले हालसम्म हमासको प्रस्तावबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन। यद्यपि उसले गाजाबाट सेना नहटाउने र युद्ध अन्त्य नगर्ने अडान राख्दै आएको छ।

दुई महिना लामो युद्धविराम १८ मार्चमा टुटेपछि गाजामा मानवीय संकट गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार, गाजाका अधिकांश नागरिक भोकमरीको चपेटामा छन्, र बालबालिकामा कुपोषण तीव्र गतिमा बढिरहेको छ।

नयाँ आक्रमणपछि संयुक्त राष्ट्रसंघ, अमेरिका, जर्मनी, स्पेन, इटालीलगायतले स्थायी युद्धविरामको आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुखले इजरायली कारबाही अन्तर्राष्ट्रिय कानुनविपरीत हुन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन