पर्सा — महालेखा परीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार, पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा आरभ एण्ड विष्णु सप्लायर्समार्फत १०,८७० थान स्यानिटरी प्याड खरिद गर्दा रु ८ लाख २६ हजार खर्च गरेको देखिन्छ।
स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ को दफा ४ अनुसार, प्याडको गुणस्तरमा कमी नआउने गरी भण्डारण तथा वितरण सुनिश्चित गर्नु पर्ने र प्रतिस्पर्धाबाट बजारको खुद्रा मुल्य भन्दा बढी नहुनेगरी खरिद गर्नुपर्ने प्रावधान छ।
तर, गाउँपालिकाले आर्थिक वर्षको अन्तिम समयमा प्याड खरिद गरेर ९,७९२ थान मात्र विद्यालयहरूमा वितरण भएको भरपाई प्रस्तुत गरेको भएपनि बाँकी १०७८ थान प्याड (रु ७२,५०६ बराबर) कहाँ पुगे भन्नेबारे कुनै पनि प्रमाण वा विवरण पेश गरिएको छैन, जुन महालेखाले असुल गर्नु पर्ने उल्लेख गरेको छ ।
गाउँपालिकाले स्यानिटरी प्याड प्रति थान झन्डै रु ७६ मा खरिद गरेको देखिन्छ, जुन स्थानीय बजारमा उपलब्ध प्याडको मूल्यभन्दा धेरै बढी रहेको स्थानीयवासीहरू बताउँछन्। उनीहरुले प्रतिस्पर्धाबिना मिलेमतोमा ठेक्का दिइएको आशंका समेत उठेको बताउँछन्।
यो प्रकरणले गाउँपालिकाले जनताको करबाट उठेको रकम कसरी, कति, र कहाँ खर्च गरिरहेको छ भन्नेमा गम्भीर प्रश्न उठाएको छ। लेखा परीक्षणको निष्कर्ष र वितरण अभिलेखको अभावले स्थानीय शासनमा पारदर्शिता र जवाफदेहितामाथि गम्भीर संदेह उत्पन्न गराएको छ।
























