काठमाडौं — तस्करबाट जफत गरिएका तथा बेवारिसे अवस्थामा फेला परेका २ लाख ११ हजार ५४ केजी रक्तचन्दन देशभरका वन कार्यालयमा वर्षौंदेखि अलपत्र अवस्थामा राखिएका छन्। प्रतिकेजी अनुमानित बजार मूल्य १५ हजार ४१० रुपैयाँका दरले गणना गर्दा यसको कुल मूल्य करिब ३ अर्ब २५ करोड २३ लाख रुपैयाँभन्दा बढी पर्न आउने वन तथा भू–संरक्षण विभागको तथ्यांकमा उल्लेख छ।

वन्यजन्तु तथा दुर्लभ वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण गर्ने साइटिस महासन्धिअनुसार, बरामद रक्तचन्दन फिर्ता सम्बन्धित देशलाई नै गर्नुपर्ने नियम छ। नेपालमा बरामद गरिएका रक्तचन्दनमध्ये १ लाख ६८ हजार ५७२ केजी काठ भारत फिर्ता पठाउने प्रक्रिया विभागले अघि बढाइसकेको भए पनि हालसम्म भारतले लिने प्रक्रिया अघि बढाएको छैन। यसअघि विभिन्न समयमा ३६ हजार ९२८ केजी रक्तचन्दन भारतलाई बुझाइसकिएको छ।

तर विभागका अनुसार बरामद गरिएका कुलमध्ये १९ हजार ३२४ केजी रक्तचन्दन हराएको र ६५५ केजी अन्त्येष्टिका लागि प्रयोग गरिएको दाबी गरिएको छ। काठको प्रयोग काठमाडौं, नवलपरासी र सिन्धुपाल्चोकमा अन्त्येष्टि प्रयोजनका लागि गरिएको हो।

स्थिति र तथ्यांक

विभागका अनुसार रक्तचन्दनको अवस्था यस्तो छ:

  • मुद्दामा, कारबाहीमा रहेको — १६,४८७ केजी

  • अदालतबाट फैसला भइसकेको — १,८९,३७६ केजी

  • अदालती प्रक्रियामा रहेको — २,०५,८६३ केजी

  • बेवारिसे अवस्थामा रहेको — ६२,०९७ केजी

  • अदालती प्रक्रियामा तथा बेवारिसे कुल — २,६७,९६१ केजी

तस्करीको अवस्था र प्रहरी तथ्यांक

नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा १,१०६ केजी रक्तचन्दन बरामद गरिएको छ, जसको मूल्य १ करोड ७० लाख रुपैयाँभन्दा बढी रहेको छ।

  • २०७७ सालमा ललितपुरबाट २२.६६ केजी

  • २०८० मा सबैभन्दा धेरै ६५३.१५ केजी (१ करोड ६ लाख मूल्य)

  • २०८१ मा ४३१ केजी (६६ लाख ३९ हजार मूल्य)

रक्तचन्दन तस्करीमा संलग्न आरोपमा प्रहरीले:

  • २०७७ मा — ४ जना

  • २०८० मा — ८ जना

  • २०८१ मा — २ जना पक्राउ गरेका छन्।

२०८१ सालको १ माघमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पेप्सीकोलाबाट एकैपटक ४ क्विन्टल ३१ केजी रक्तचन्दन बरामद गरेको थियो।

भारतको उदासीनता र खुला सीमा समस्या

विभागकी अधिकृत सबनम पाठकका अनुसार क्याबिनेटले भारतलाई रक्तचन्दन फिर्ता लैजान स्वीकृति दिए पनि भारतले तीनपटक म्याद कटाइसकेको र अझै लैजान नसकेको जानकारी दिइएको छ।

प्रहरी प्रवक्ता रमेश थापाका अनुसार रक्तचन्दनको उच्च मूल्यका कारण सजिलै पैसा कमाउने लोभमा यसको तस्करी हुने गरेको हो। भारतबाट तस्करी गरी नेपाल ल्याइने र यहाँबाट चीन पठाइने ट्रान्जिट मार्गको रूपमा नेपाल प्रयोग हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। (साभार : इकान्तिपुर)

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here