काठमाडौँ — रुसको युक्रेनमाथिको हवाइ आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोस व्यक्त गरेका छन्। सोमबार ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको बताएका छन्।
रोयटर्सको रिपोर्टअनुसार युक्रेनी वायु सेनाले रूसी सेनाले रातभरि ३५५ वटा ड्रोन र ९ वटा क्रुज मिसाइल प्रक्षेपण गरेको जनाएको छ। वायु सेना प्रवक्ताका अनुसार यो युद्धको क्रममा हालसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण हो।
ट्रम्पले पुटिनलाई लक्षित गर्दै लेखेका छन्, “पुटिनलाई युक्रेनको एक टुक्रा मात्र होइन, सिंगो युक्रेन नै चाहिएको हो। यदि उनले त्यस्तो गरे भने, उनी अधोगतिको बाटोतर्फ अग्रसर हुनेछन्।”
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति पनि टिप्पणी गर्दै भनेका छन्, “उनी आफ्नै शैलीले देशको कुनै भलाइ गरिरहेका छैनन्। उनले जे बोल्छन् त्यसले समस्या मात्र निम्त्याइरहेको छ। मलाई त्यो मन पर्दैन। यस्तो रोकिनुपर्छ।”
तेस्रो पटक भएको रूसी हवाई आक्रमणमा युक्रेनका पाँच स्थानहरूलाई लक्षित गरिएको युक्रेनी सेनाले जनाएको छ। हालसम्म सैन्य संरचनामा क्षतिको विस्तृत विवरण सार्वजनिक नभए पनि पश्चिमी युक्रेनमा आवासीय भवन र औद्योगिक संरचनामा क्षति पुगेको युक्रेनी सरकारी अधिकारीहरूले जनाएका छन्।

























