वीरगंज, पर्सा — मनसुनको पूर्वसन्ध्यामा वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका मुख्य तथा सहायक नालाहरूको सरसफाइ अभियानलाई तीव्र बनाएको छ। बाढीजन्य जोखिम न्यूनीकरणका लागि अतिक्रमण हटाउने र वर्षौंदेखि अवरुद्ध रहेका नालाहरूको सरसफाइलाई प्राथमिकता दिइएको हो।
महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा मंगलबार वडा नं. ११ र १३ अन्तर्गत पर्ने मुख्य नालाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको थियो। निरीक्षण टोलीले अल्पाइन स्कुल हुँदै श्रीपुर क्षेत्रसम्म फैलिएको नालाको अवस्था अवलोकन गरेको हो।
निरीक्षणका क्रममा नालामा अतिक्रमण भएको, लामो समयदेखि सफाइ नहुँदा पानीको निकास अवरुद्ध भएको र बाढीको समयमा जलजमावको समस्या देखिएको पाइएको छ।
स्थानीयवासीहरूले अनुगमनका क्रममा घरभित्रसम्म पानी पस्ने, दुर्गन्ध फैलिने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने समस्याबारे गुनासो गरेका थिए। प्रतिक्रिया स्वरूप महानगर प्रमुख सिंहले तत्काल नाला सफाइ तथा अतिक्रमण हटाउन निर्देशन दिए।
“स्थानीयको समस्या समाधानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइनेछ,” प्रमुख सिंहले भने, “दीर्घकालीन रूपमा फोहर व्यवस्थापन र नाला संरक्षणसम्बन्धी योजना पनि निर्माण गरिनेछ।”
अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, वडा नं. ११ का अध्यक्ष अजय चौरसिया, वडा नं. १३ का अध्यक्ष हिरालाल गिरी, सरसफाइ प्रमुख सर्फुदिन अन्सारी, प्राविधिक सल्लाहकार प्रकाश अमात्यलगायतको उपस्थिति थियो।
महानगरले आगामी दिनमा अन्य जोखिमयुक्त क्षेत्रहरूको पनि अनुगमन गर्दै तत्काल समस्या समाधान र पूर्वाधार सुधारमा जोड दिने जनाएको छ।