वीरगंज — अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंबाट खटिएको टोलीले मधेस प्रदेश सभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई सरकारी रकम दुरुपयोगको आरोपमा पक्राउ गरेको छ।
आयोगमा प्राप्त उजुरीका आधारमा सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरी ती समितिहरूको खातामा जम्मा भएको रकम आफ्नो स्वकीय सचिवमार्फत झिकाई आफ्नो र श्रीमतीको व्यक्तिगत खातामा दाखिला गराएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। साथै, उक्त रकम सचिव बिनोद कुमार लाल कायस्थकै खातामा समेत जम्मा गरिएको उल्लेख छ।
यसै सन्दर्भमा आयोगको टोलीले जेठ १२ गते दिउँसो १:०० बजे सिंहका स्वकीय सचिव ६५ वर्षीय बिनोदकुमार लाल कायस्थलाई धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. ९ स्थित सरस्वती टोलबाट नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जानकारी दिएको छ।
अनुसन्धानका क्रममा प्रदेश सभा सदस्य सरोजकुमार सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणहरू समेत नियन्त्रणमा लिइएको छ। अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले अनुसन्धान प्रक्रिया जारी रहेको जानकारी दिएका छन्।
सरोजकुमार सिंह मधेश प्रदेशका महोत्तरी ४ (२) निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका प्रदेश सभा सदस्य हुन्। उनी पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहिसकेका छन्।
यस प्रकरणमा प्रदेश सभा सदस्य सिंहको संलग्नता र संलग्नता सम्बन्धी थप प्रमाण संकलन भइरहेको स्रोतले जनाएको छ।

























